रौतहटमा एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय

रौतहट । भदौ ६ गते
रौतहट प्रशासनले भदौ ७ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञाको अवधि पुनः सात दिन थप गर्ने निर्णय गरेको छ । रौतहटमा जारी निषेधाज्ञाको अवधि फेरी एक साता थप भएको छ ।
शनिबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ ८ गतेदेखी १४ गते रातीको १२ बजेसम्मका लागि एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले यो तेश्रो पटक निषेधाज्ञा थप गरेको हो ।
जिल्ला सुरक्षा समितिको पहिलो बैठकले जिल्लाभरि लागु हुने गरी साउन २४ गतेदेखि ३२ गतेसम्म एक साता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो । त्यसपछि दोश्रो पटक गत शनिवार बसेको सुरक्षा समितिको बैठकले भदौ १ गतेदेखी ७ गते आइतवारसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।
उक्त निषेधाज्ञाको अवधि सकिन एक दिन बाँकी छँदा प्रशासनले पुनः सात दिन थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमितकहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको र सङ्क्रमणको जोखिमको सम्भावना अझै उच्च नै रहिरहेको निष्कर्ष निकाल्दै जिल्ला सुरक्षा समितिको बैठकले जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।
यसैविच शनिवारको सुरक्षा समितिको बैठकले जिल्लाका सम्पुर्ण बैंक तथा वितिय संस्थाहरु समेत खोल्न दिने निर्णय गरेको छ ।
यस अघिको बैठकले निषेधाज्ञाको अवधीमा खाद्यान्न पसल तथा निर्माण सामग्रि मात्रै खोल्ने निर्णय गरेपनि बैंक तथा वितिय संस्थाहरु खोल्न नदिने निर्णय गरेको थियो । तर बैङ्कहरू बन्द हुँदा आर्थिक कारोबार गर्न ठूलो समस्या भइरहेको व्यापक जनगुनासो आएपछि शनिवार बसेको सुरक्षा समितिको बैठकले आउँदो भदौ ८ गतेदेखी प्रत्येक दिन विहान ७ बजेदेखी ११ बजेसम्म निश्चित शर्तहरु पाल्न गर्ने गरी सबै बैंक तथा वितिय संस्थाहरु खोल्न दिने निर्णय गरेको हो ।
बैठकले नेपाल सरकारद्धारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पुर्ण पाल्न गर्ने शर्त सहित बैंक तथा वितिय संस्था सहित खाद्यान्न पसल तथा निर्माण सामगि समेत खोल्न दिने निर्णय गरेको हो ।
भदौ ८ गतेदेखि भदौ १४ गते राति १२ बजेसम्म थपिएको निषेधज्ञा अवधिमा आम नागरिकलाई अति आवश्यक खाद्य सामग्रीको आपूर्ति सहज बनाउने उदेश्यले प्रत्येक दिन विहान ७ बजेदेखी ११ बजेसम्म शर्तको पूर्ण पालना गराई पसलहरू खोल्न दिने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
पसल सञ्चालकको लागि निर्धारण गरिएको शर्तहरूमा पहिलो बिक्रेता तथा उपभोक्ताले स्यानिटाइजर, मास्क तथा पञ्जाको अनिवार्य प्रयोग गर्ने, दोस्रो मास्क नलगाई आउने उपभोक्ताहरूलाई खाद्यवस्तु बिक्री वितरण गर्न नदिने र तेस्रो शर्त बिक्रेताले अनिवार्य रुपमा भौतिक दूरी कायम हुने गरी मात्र बिक्री वितरणको व्यवस्था मिलाउने रहेका छन् ।
त्यस्तै बैंक तथा वितिय संस्थाहरुको समेत सेवा लिन जाँदा मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्ने सूचनामा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको हस्ताक्षर भएको सूचनामा निर्धारण गरिएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको उल्लङ्घन गर्ने गराउने वा कार्यान्वयनमा अवरोध गर्ने गराउनेउपर सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कड़ा कार्यवाही गरिने चेतावनी दिइएको छ ।