कामदारमा कोरोना संक्रमण भेटिएपछि उद्योग शिल

बारा, ३० साउन । सिमरामा रहेको जगदम्बा स्टील प्रा.लि.मा ११ जना मजदुरमा कोरोनाको संक्रमण पुष्टि भएपछि सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा सो उद्योगमा कामगर्ने ११ जना मजदुरमा कोरोना भाइरस संक्रमण देखिएपछि उद्योग सिल गरिएको हो । बिहिबार साँझराती ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालको नेतृत्वमा गएको टोलीले जगदम्बा स्टील उद्योगमा सिल गरेको हो । उद्योगमा नेपाली कम तथा भारतीय मजदुर तेब्बरको सँख्याले काम गर्दै आएका थिए । उद्योगले भारतबाट मजदुर ल्याएर काममा लगाएको र गत बुधबार विभिन्न स्थानबाट ल्याइएका मजदुरहरुलाई राती ९ बजे भगाउन लागेपछि २७ जना मजदुरलाई उद्योगको गेटमै स्थानीयले समातेर सिमरा स्थित होटलको क्वारेन्टाइनमा राखेका थिए । ईलाका प्रहरी कार्यालय इलाका सिमराका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठ, सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, राष्ट्रिय अनुसन्धानका दीपक चौधरी, तराई यातायात व्यवसायी सङ्घका कोषाध्यक्ष नारायणप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।