रातीमा भारतीयहरु भित्रिने क्रम नरोकिएपछि सीमा क्षेत्रका बासिन्दा त्रसित

बारा, साउन १५ गते । दिनमा सुरक्षा गस्ती सशक्त भएपनि रातको समयमा भारतबाट खुला सीमा नाकाको प्रयोगगरी नेपाल भित्रिने क्रम नरोकिएपछि अहिले सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । पर्सा जिल्लाको वीरगंजमा कोरोना भाईरसबाट ज्यान गुमाउनेहरुको सँख्या बढ्न थालेपछि बाराको दशगाजा क्षेत्रका स्थानीयहरु त्रसित बनेका छन् । नेपाल भारत सीमा क्षेत्रमा प्रहरीको उच्च निगरानी रहेपनि रातीको समयमा भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दाहरु त्रसित भएका कलैया उपमहानगरपालिका वडा नम्बर–१० मटिअर्वाटोल रामायाण पडितले बताए । बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भाग दशगाजा क्षेत्र भारतबाट सोझै नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरु दिउसो भने कम आएपछि रातीराती बढी संख्यामा ओदोर दोहोर गर्ने गरेकाले दशगाजा क्षेत्रका स्थानीय बासिन्दाहरु त्रसित भएका अर्का सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिए । दशगाजा नजिकै यस्तो घटनाको बारेमा प्रहरीलाई जानकारी दिदा उनीहरु लुक्ने तथा प्रहरी गएपछि बाहिर निस्कने गरेको स्थानीयहरुले बताएका छन् । अहिले बारा जिल्लाको जस्तै समस्या भारतसँग खुल्ला सीमाका कारण अन्य जिल्लाका दशगाजाको ग्रामिण क्षेत्रमा समेत रहेको छ । दिनभर नेपाल भारतका सुरक्षाकर्मीले सीमा क्षेत्रमा उच्च निगरानी राख्ने भएपनि रातको समयमा खुला सीमाको कारण ग्रामिण नाका, खेत, बगर, खोला हुँदै भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि गाउँ गाउँमा सन्त्रास छाएको छ । भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने र चुपचाप बस्ने तथा उद्योगहरुमा काम गर्ने क्रम बढदै गएपछि अहिले पथलैया वीरगंज औद्योगिक कोरिडोर कोरोना संक्रमणको जोखिममा पुगेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताए । सीमा क्षेत्रबाट उद्योगी व्यवसायीहरुले लुकिछिपी मजदुर भित्र्याउने प्रवृति तथा सीमा नाकाबाट हुने अवैध तस्करीको कारण बारा, पर्सामा कोरोनाको जोखिम बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सीमा सुरक्षाको निगरानीमा सशस्त्र प्रहरीको ७ वटा स्थायी बेस कैम्प रहेपनि छिमेकी राष्ट्र भारतबाट कोरोना महामारी नियन्त्रणको लागि थप १७ वटा अस्थायी कैम्प स्थापनागरि अधिकृतदेखी करिब ४ सय सशस्त्र प्रहरी जवान खटाइएको सशस्त्र प्रहरी बल नम्बर–१२ गण सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले बताए ।