बिना काम घरबाट बाहिर ननिस्कन आग्रह बारामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी

बारा, जेठ ५ गते । तराईको बिभिन्न जिल्लाहरुमा कोरोना भाईरस संक्रमितहरुको सँख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान १ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निम्मानुसार गर्ने गराउनेगरि रोग रोकथामका लागि निषेधज्ञा जारी गरिएको छ । छिमेकी मुलुक भारतसँग खुल्ला सीमा भएकाले तराईका पर्सा र रौतहट जिल्ला लगायतमा कोरोना भाईरसबाट संक्रमितहरुको बढ्ने क्रम जारी रहेकाले अन्य जिल्लाबाट बारा जिल्लामा आउन जानमा समेत रोक लगाउने निर्णय भएको हो । जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैंक एकएक दिन आलोपालो गरेर खोल्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस बाहेक अत्यावश्यक सेवाहरु स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधी, एम्बुलेन्स, कृषि उपज तथा उत्पादन माछा, कुखुरा, मल र बिउका व्यवसाय भने खुल्ला रहने छन् । औद्योगिक उत्पादनको लागि कच्चा पदार्थ, कोईला, डण्डी बोक्ने ढुवानीका सवारी साधनलाई पास आवश्यक नपर्ने तथा अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।