पत्रकार संक्रमित भएपछि तीन दर्जन पत्रकारको स्वाब परीक्षण

पर्सा, ३१ बैशाख । कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि अहिले वीरगंजको नारायणी अस्पतालको आईसोलेशनमा ८७ जनाको उपचार भई रहेको छ । गत बैशाख ३० गते भन्दा अगाडीका २९ जना हिजो बीरगंजमा भेटिएका ५७ जना र वाराको १ जना गरी ५८ जना सहित ८७ जनाको उपचार नारायणी अस्पतालको आईसोलेशनमा भई रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए । संक्रमितहरु मध्ये ८२ जना पर्सा जिल्लाका रहेका छन् । वीरगंजमा विगतमाभेटिएका संक्रमितहरुको कन्ट्रयाक टेसिङ्ग र ट्रभल हिष्ट्रीको आधारमा ९ सय ९७ जनाको पिसिआर परिक्षण गरिएको र यसको रिपोर्ट आउने क्रम शुरु भएसँगै वीरगंजमा संक्रमितको संख्या बढदै गएको छ । ९ सय ९७ जना मध्ये अझै ४ सय को रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ । हाल सम्म पर्सा जिल्लामा १ हजार ७ सयको पिसिआर टेष्ट र २ हजार ५ सय भन्दा बढीको आरडिटी टेष्ट सम्पन्न भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिए । बीरगंजमा २ जना कोरोना संक्रमित सञ्चारकर्मी भेटिएसँगै अहिले विशेष गरी पर्सेली सञ्चारकर्मीहरुमा सन्त्रास छाएको छ । आज मात्रै संक्रमित पत्रकारहरुको सम्पर्कमा रहेर काम गरेका झण्डै ३ दर्जन सञ्चारकर्मीहरुको नारायणी अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब लिईएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा.उपाध्यायले बताए । मंगलबार राति देखि नै वीरगंज तथा वारा पर्सामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएपछि राति देखि नै वीरगंज पूर्ण रुपमा सुनसान भएको छ । कोरोना नियन्त्रणका लागि नागरिकलाई घर भित्रै बस्न आग्रह गरिएपनि नटेरेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथमा स्थानिय प्रशासन ऐन अनुसार सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताए ।