हराएको डिजेल ट्यांकर धनुषामा रित्तो फेला
आर्दशवाणी संवाददाता । जनकपुर, ४ मंसिर । सिरहाको लहानबाट २ दिन अघि हराएको डिजेल भरिएको ट्यांकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ ।आज बिहान साढे ७ बजे धनुषाको क्षिरेश्वरनाग नगरपालिका –१ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय महोन्द्रनगरका प्रहरी निरीक्षक अमृत दाहालले जानकारी दिनुभयो । निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते दिउँसो २ बजे २० हजारलिटर डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर त्यही दिन राति सिरहाबाट बेपत्ता भएको थियो । सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए । यसैविच नेपाल आयल निगमको प्रदेश १ कार्यालय बिराटनगरले सिराहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ । आइतबार राति अपहरणमा परेको भनिएको ट्याङ्कर धनुषामा रित्तै भेटिएपछि त्यस क्षेत्रका पम्पहरुमा छानबिनका लागि तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताउनु भयो । तेल जथाभावी खन्याउने वस्तु नभएको पक्कै कुनै पम्पमा खन्याइएको हुनुपर्छ भन्दै जाँचका लागि वितरण रोकिएको साहले भन्नुभयो । तेल वितरण रोकेर प्रहरीसहितको निगमको टोलीले सप्तरी र सिराहाका सबै पम्पमा अनुगमन थालेको प्रमुख साहले बताउनुभयो । थप अनुसन्धानका प्रक्रियाबारे सप्तरी जिल्ला प्रशासनमा छलफल भइरहरको पनि उहाँले जानकारी दिनुभयो । ट्याङ्कर अपहरण प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आयल निगमको केन्द्रीय कार्यालयबाट चार सदस्यीय टोली विराटनगर प्रस्थान गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइत नेतृत्वको टोली विराटनगरतर्फ बुधबार दिउँसो प्रस्थान गरेको निगमले जनाएको छ ।