गढीमाई मेलामा ६० लाख बढी श्रद्धालुहरु दर्शनगर्न आउने समितिको विश्वास
आर्दशवाणी संवाददाता । बारा, ४ मंसिर । बाराको महागढीमाई स्थित रहेको गढीमाई मेलामा नेपाल, भारतलगायत तेस्रो मुलुकबाट यसबर्ष ६० लाखभन्दा बढी हिन्दु श्रद्धालुहरु दर्शनगर्न आउने विश्वास गरिएको छ । पर्यटन बर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने पाँच बर्षिय मेला धार्मिक पर्यटक भित्र्याउने ठुलो माध्यम बन्ने देखिएको छ । पाँच बर्षिय मेलालाई भब्य र सर्वव्यापी बनाउन गत असोज १२ गते घटस्थापनाको दिन निकालिने शोभा यात्रा कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले फोनमार्फत सम्बोधन गरी उदघाट्न गरेकी थिइन् । मौसम खराबीले शोभा यात्रा कार्यक्रममा उपस्थित हुन नसके पनि राष्ट्रपतिले फोनमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई मन्दिरको उचित संरक्षण एवम संवद्र्धन गर्दा यसले देशको पर्यटन क्षेत्रमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । केही दिन पहिलामात्रै नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले एक कार्यालयमा सम्बोधन गर्दै गढीमाई प्रति आस्था राख्ने लाखौं श्रद्धालुहरु एकैचोटी दशैनगर्न आउने मेलाको अवस्थालाई कुम्भ भन्ने गरिएको र गढीमाई मेलामा पनि लाखौं श्रद्धालुहरु आउने गरेकोले गढीमाईको मेलालाई नेपालको कुम्भ मेलाको संज्ञा दिनु भएको थियो । गढीमाई मेला विशेष गरी संसारमै सबैभन्दा बढी पशुबलि दिइने मेलाका रुपमा परिचित छ । ०७१ सालको मंसिर महिनामा लागेको पाँच वर्षीय गढीमाई मेलामा करिब ८० हजार जति पशु बलि दिइएको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताउनुभयो । आगामी मंसिर १ गतेदेखि सुरु हुने मेलाको १७ गते पंचबलि तथा १८ गते अन्य बलि हुने पुजारी चौधरीले जानकारी दिनुभयो । मंसिर १ गतेदेखी लाग्ने गढीमाई मेलामा कबिर ६० लाख बढी श्रद्धालु आउने विश्वास गर्दै मेला समितिले सोही अनुसार तिब्र गतीमा भौतिक तथा, खानेपानी, आवास, बास र शौचालयको तयारी भई रहेको मेलाका महासचिव मोतीलाल कुशवाहाले बताउनुभयो । गतबर्ष ०७१ मा लागेको गढीमाईको मेलामा ४५ लाख जति श्रद्धालुहरु आएका थिए भने, त्यसमा ३० लाख जति भारतीय श्रद्धालुहरु मेला भर्न आएका महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । मेलामा आउने लाखौं धार्मिक पर्यटक तथा श्रद्धालुहरुलाई राहत तथा मेला व्यवस्थित गर्नका लागि बिगत तीन महिना देखि पहिलो चरणको काम सम्पन्न भई सकेको उहाँले बताउनुभयो । गढीमाई मेला भर्न आएका भारतीय पर्यटकलाई देशका अन्य भागमा रहेका धार्मिक, ऐतिहासिक तथा दर्शनीय स्थानहरुसम्म लैजान संघीय सरकारले केही दिनदेखी गृह कार्यमा लागेको प्रमुख यादवले बताउनुभयो । अहिले महागढीमाई नगरपालिकाले मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा धार्मिक पर्यटकलाई लोभ्याउन पोखरीमुनि भूमिगत सिसमहल र पोखरीमाथि सूर्य मन्दिर, आधुनिक शौचालय लगायत संरचना तथा पूर्वाधार निर्माण गराइरहेको छ भने, गढीमाई मन्दिर परिसरमा प्रदेश सरकारले ठुलो धर्मशाला, विवाह मण्डप आदि संरचना निर्माण गराइरहेको छ ।