गरुडास्थित चिनि मिलको अगाडि आन्दोलनमा एक्यवद्धता जनाउदै कृषि राज्य मन्त्री यादव

रौतहट । असोज ११ गते
रौतहटको गरुडामा बन्द अबस्थामा रहेको श्रीराम सुगर मिल्स जुनसुकै परिस्थितीमा पनि सञ्चालनमा ल्याउनु पर्ने प्रदेश २ का भुमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रि योगेन्द्र यादवले माग गर्नु भएको छ । राज्य मन्त्री यादवले मिल्स सञ्चालन, किसान र उद्योगका मजदुरहरुको बक्यौता रकम भुक्तानीको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्न किसानहरुलाई आग्रह समेत गर्नु भएको छ । आइतबार उखु उत्पादक संघ रौतहटले गरुडा चिनी मिल सञ्चालन, मजदुर तथा किसानहरुको बक्यौता रकम भुक्तानी गर्नको लागि दवाव स्वरुप गरुडास्थित चिनि मिल गेटको अगाडि गरेको आन्दोलनमा एक्यवद्धता जनाउनु हुदै कृषि राज्य मन्त्री यादवले यस्तो आग्रह गर्नु भएको हो । उद्योग सञ्चालन सम्बन्धी अधिकार केन्द्र सरकारको मातहत अन्तर्गत रहेकोले किसानहरुको समस्या केन्द्र सरकारले नै समाधान गर्नुपर्ने राज्य मन्त्री यादवको भनाइ रहेको थियो । बन्द भएको गरुडा मिल सुचारु गराउन तथा किसान र मजदुरहरुको जायज माग पुरा गर्नको लागि केन्द्र सरकारले पहल गर्नुपर्ने र प्रदेश सरकार केन्द्र सरकारलाई सहयोग गर्न पुर्ण रुपमा तयार रहेको मन्त्री यादवले जिकिर गर्नु भयो । प्रदेश सांसद एवं राज्य मन्त्री यादवले उद्योग मन्त्रीले गरुडा मिल पुन सञ्चालन, किसान र मजदुरहरुको माग पुरा नगरे किसानहरुसँग आफु पनि सिंहदरबारको अगाडि धर्नामा बस्ने प्रतिवद्धता जनाउनु भएको छ । मन्त्री यादवले संघिय सरकारलाई माग पुरा गर्न बाध्य बनाउने गरी आन्दोलन वा दवाव नदिएसम्म मिल सञ्चालन र किसान तथा मजदुरहरुको समस्या समाधान हुन नसक्ने भएकाले काठमाडौं केन्द्रित आन्दोलन शुरु गर्न किसानलाई आग्रह गर्नु भएको छ । सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य वृज किशोर यादवले उधोगपतिले गरुडा चिनि मिलको जग्गा विक्रि गर्न लागेको भन्दै आफुहरु कुनैपनि हालतमा मिलको जग्गा विक्रि गर्न नदिने चेतावनी दिएका छन । मिल सञ्चालन गर्नको लागि आफुहरुले सहुलियत दरमा विक्रि गरेको जग्गामा मिल नै सञ्चालन हुनुपर्ने उहाले बताउनु भयो । केहि महिना अगाडि गरुडा चिनि मिलले सुचना जारी गर्दै मिल निरन्तर घाटामा गएको भन्दै मिल सधैका लागि बन्द भएको जनाएको थियो । गरुडा श्रीराम सुगर मिल्सले उखु खरीद गरे वापतको किसानहरुको विगत ५ वर्षको ४१ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी राखेको र त्यसमा पनि किसानलाई भुक्तानी दिनुपर्नेमा उद्योगपतिले सधैका लागि मिल नै बन्द गरेपछि उखु उत्पादक संघ, किसान र मजदुरहरु चरणवद्ध आन्दोलनमा उत्रेका छन । उद्योगपतिलाई मिल सञ्चालन, किसान र मजदुरहरुको रकम भुक्तानी गर्ने माग राखी उखु उत्पादक संघ रौतहटले विगत २ दिन देखी गरुडा मिलको अगाडि विरेन्द्र राजमार्गमा चक्का जाम गर्दै आएका छन । संघले दवाव स्वरुप शनिबार १ घण्टा गरेको चक्का जाम आइतबार २ घण्टा गरेको थियो भने सोमबार ३ घण्टा चक्का जाम गर्ने जनाएको छ । सोमबार पनि आफुहरुको माग पुरा नभए कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उखु उत्पादक संघ रौतहटले चेतावनी दिएको छ ।