मुटुको सफल उपचारपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज

हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।

नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्ट गरिएको थियो । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो । उनी अस्पताल भर्ना भएसंगै एकहप्ताका लागि सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएका थिए । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषद् समेत स्थगित भएको थियो ।

जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडामा हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मंगलबार हेटौंडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । परिषद बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ ।