क्वारेन्टाईनमा १४ दिन पुरागरी ३२ जना घर फिर्ता
बारा, १८ गते । बाराको विश्रामपुर गाउँपालिकामा रहेको क्वारेन्टाईनमा १४ दिन पुरा गरेर पिसिआर परिक्षण गर्दा नेगेटिभ भेटिएपछि ३२ जनालाई बिहिवार आ–आफ्नो घर तर्फ पठाईएको छ । लकडाउनको समयमा नेपाल भारत खुला सिमा क्षेत्रबाट प्रवेश गरेका ३२ जनालाई गाउँपालिकाले नियन्त्रणमा लिई क्वारेन्टाईनमा राखेको थियो । क्वारेन्टाईनमा राखेका मध्ये ३१ जना भारतीय नागरिक रहेको र १ जना नेपाली रहेको विश्रामपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले जानकारी दिए । नेपालबाट भारत जाने भारतीय नागरिकलाई काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त पिसिआर रिपोर्ट र गाउँपालिकामा १४ दिन क्वारेन्टाईनमा बसेको सिफारिस पत्र सहित भारतको आ–आफनो ठेगानामा जानका लागि पठाईएको स्वास्थ्य शाखाका प्रमुख हुसेनले बताए । क्वारेन्टाईनमा बसेकाहरुलाई घर पुग्ने बाटो खर्च समेत गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालले जनाए ।