कांग्रेस नेता द्वारा घर भाडा नलिने घोष्णा

बारा, चैत १७ गते । निजगढ नगरपालिकामा घरधनीहरुले कोरोना भाइरसको कारण घर भाडा नलिने घोष्णा गरेका छन् । घरमा भाडा लिएर बसेका व्यवसायी तथा अन्य ब्यक्तिहरु पनि मारमा परेको भन्दै एक महिनाको घर भाडा नलिने घोष्णा गरिएको हो । निजगढ नगरपालिकाका स्थानीय नेता नवराज तिमल्सिना र किरण लामाले आफ्नो घरका आवासीय कोठा र व्यावसायिक सटर भाडामा लिएर व्यवसाय गर्दै आएका सबैलाई चैत महिनाको भाडा नलिने घोष्णा गरेको बताएका छन् । लिच्ची टोलस्थित निजगढ नगरपालिका कार्यालय अगाडी रहेको नवराज तिमल्सिनाको ३ वटा व्यावसायिक सटर सहित १३ वटा कोठाहरु वहालमा रहेको छ । उनीहरुबाट एक महिनामा ४५ हजार रुपैंया भाडा प्राप्त हुने गरेको तिमल्सिनाले बताए । तिमल्सिना नेपाली कांग्रेस निजगढ नगरका उपसभापति हुन् । यसैगरि ठाडोलाईनका किरण लामाले पनि आफ्नो घरमा वहालमा बस्नेहरुको चैत्र महिनाको भाडा नलिने बताएका छन् । लामाले सरकारको लक डाउन घोष्णा भएको दिनदेखी नै घर भाडा मिनाह गर्ने घोष्णा गरेका थिए । यातायात व्यवासायी लामाको घरमा आवासीय रुपमा वहालमा रहेको ५ वटा कोठा भाडामा दिए वापत प्रति महिना १५ हजार रुपैंया आउने गरेको लामाले बताए । लामा नेपाली कांग्रेस निकटका स्थानीय नेता हुन् ।