घामले धेरै राहत

रौतहट, ११ पुस । कठ्यांग्रिदो जाडो र शित लहरले प्रभावित मध्यतराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा शुक्रवार दिउँसो १२ बजेपछि पहारिलो घाम लागेपछि राहत पुगेको छ । लामो समयदेखि अत्याधिक जाडो तथा शित लहरले विशेष गरी विपन्न वर्ग तथा दलित समुदायका महिला बालबालिकाहरु बढी प्रभावित भएका छन् । जाडोबाट प्रभावितहरु समेत आज दिउँसो घरको छत तथा खुला स्थानमा निस्केर घाम तापेका छन् । घाम नलाग्दा घर घरमा लामो समय देखि फोहर रहेका कपडाहरु धुन गृहणीहरुलाई भ्याईन नभ्याई भएको थियो । घाम लागेपछि वीरगंज लगायतका बजारमा समेत दैनिक उपभोग्य सामान खरिदका लागि उपभोक्ताहरुको भिड बढेको छ । त्यसैगरी जिल्ला स्थित सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीहरुको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा समेत सेवाग्राहीको संख्या एक साताको तुलनामा आज अत्याधिक रहेको जनाईएको छ ।