रौतहटमा निधेधाज्ञा थपिदै भदौ ३१ गतेसम्म

आरएन पटेल । रौतहट । भदौ २१ गते
रौतहटमा भदौ मसान्तसम्म निधेधाज्ञा लम्ब्याइएको छ । गत २४ साउनदेखि निरन्तर जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ मसान्तसम्म पु¥याइएको हो ।
निषेधाज्ञाको समयमा प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म अत्यावश्यक खाद्यन्न सामग्री, दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीको पसल खोल्न छुट दिइएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुलाई पनि १० देखि ४ बजेसम्म खोल्न छुट दिइएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रौतहटको निर्णयअनुसार जिल्लामा संक्रमितको संख्या दिनानुदिन बढिरहेको तथा संक्रमणको जोखिमको सम्भावनासमेत उच्च रहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । निषेधाज्ञा लम्बिँदै जाँदा जनजीवन असहज बन्दै गएकोले केही छुट दिइएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ।
निषेधाज्ञा केही खुकुलो बनाइएको भए पनि विक्रेता तथा उपभोक्ताहरूले स्यानिटाइजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने, मास्क नलगाई आउने उपभोक्ताहरूलाई मालसामान बिक्री वितरण नगर्ने तथा अनिवार्य रुपमा भौतिक दूरी कायम गरी मात्र विक्री वितरण गर्न निर्देशन दिइएको छ ।
अनुमति प्राप्त नगरेका सवारी साधन, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सैलुन, जिमखानालाई खोल्न प्रतिबन्ध लगाइएको छ भने हाटबजार तथा मेला, जात्रा, सामूहिक रुपमा मनाइने चाडपर्व, सभा जुलुसमाथि लगाइएको रोकलाई कायम राखिएको छ ।