राक्सिराङमा संगठन बलियो बनाउँदै नेकपा

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला तथा दुई दिने प्रशिक्षण बुधबार समापन भएको छ ।

राक्सिराङ गाउँपालिका ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ गाउँपालिकाका ९ वटै वडाका संयोजक र सह संयोजकहरु सहभागिता रहेको थियो । २०७४ सालको स्थानीय निर्बाचनमा तत्कालीन एमालेले हार व्यहोरेपछि राक्सिराङमा राजनीतिक कार्यक्रम राम्ररी चल्न नसकिरहेको अबस्थामा पछिल्लो समय नेकपाले हरेक वडामा संरचना तयार गरेको जनाएको छ ।

प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले समृद्धिमात्र समाजबाद होइन भन्दै पार्टीले जनतासँग घनिष्ट सम्बन्ध कायम गर्नुपर्ने बताए । पार्टी बलियो भएमात्र राष्ट्र र राष्ट्रियता बलियो हुनेमा जोड दिँदै नेता न्यौपानेले अनुशासित पार्टी भएमात्र समाजवादको लक्ष्य हासिल गर्नेमा जोड दिए ।

नेकपाका जिल्ला सदस्य लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रामेश्वर रानाले आर्थिक सामाजिक रुपान्तरणबारे, कमान सिं पाख्रिन पृथकले पार्टी निर्माण र पद्धतिबारे धारणा राखेका थिए । कार्यक्रममा राजाराम स्याङ्तान, वनस्तम थिङ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाबुलाल स्याङ्तानले स्वागत मन्तव्य राखेका थिए ।