भारतीय नम्बर प्लेटका सवारी रोक

आर्दशवाणी संवाददाता । रौतहट, ९ मंसिर । व्यवसायिक प्रयोजनका लागि रौतहटको सदरमुकाम गौरमा एक दशकदेखि चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पु) चल्न रोक लगाइएको छ । उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले गौर र भारतीय बजार बैरगनियाँ आवत जावत गर्ने व्यवसायीकरुपमा सञ्चालित भारतीय नम्बर प्लेटका टेम्पुमा रोक लगाएको हो । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मि मोटर्स प्रालीका प्रोपराइटर अरुण कुश्वाहाले सो स्थानमा चल्दै आएको तीन पाङ्ग्रे भारतीय टेम्पु सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर मुद्दा दायर गर्नु भएको थियो । प्रोपराइटर कुश्वाहाले मंसिर ३ गते निषेधाज्ञा परमादेशको लागि दायर गर्नु भएको मुद्दा माथि उच्च अदालत जनकपुरको अस्थायी इजलाशका न्यायाधिशद्वय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले व्यवसायिक प्रयोजनका लागि सञ्चालित त्यस्ता तीन पाङ्ग्रे सवारीमा रोक लगाउने आदेश दिएको हो । बिना भन्सार एक दशकदेखि सदरमुकाम गौरमा निर्वाधरुपमा चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको थिएन ।