अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब

आर्दशवाणी संवाददाता । बारा, ३ मंसिर । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ’अपहरण’मा परेको लिखित जानकारी निगमलाई आज विहान गराएका थिए । अपहरणकारीहरुले चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई छाडेर ट्यांकरसँगै लगेको गुप्ताको दाबी छ । उक्त ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन् । गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा र्पुयाएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन् । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ढुवानीकर्ताले ट्यांकर गायब भएको कुरा निगमलाई जानकारी गराएको पुष्टि गरेका छन् । गोईतले घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भएको बताउनु भयो ।