गढीमाई मेला सुरु, मेलाभर्न श्रद्धालुहरु आउने थाले

बारा, ३ मंसिर । बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आइतवारदेखि सुरु भएको छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई–१ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ । मेला मंसिर महिनाभरी चल्नेछ । लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडी मात्रै समिति गठन भएको थियो । मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । लाखौंको सँख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ । मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्ने छ । मेला समितिले मंसिर १७ र १८ गते पशुबलीको तयारी गरेको छ । पशुबलीको समय नजिकिए पछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ । बलीको समयमा दसौं लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ । मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहाले पशुबलीको समयमा भक्तजनको धेरै भीड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइ रहेको मेला मूल समितिले जानकारी दिएको छ । मेला सुरु भएपछि भक्तजनको सँख्या बढ्दै जाने गरेको छ । हामी अझै पनि तयारीमै छौँ’ कुशवाहाले भने अघिल्लो मेला भन्दा थप व्यवस्थित बनाउने तयारीमा जुटिरहेका छौ । एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने कुशवाहाको अनुमान छ । यस्तो छ सुरक्षा रणनीति गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीति बनाएको छ । मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा समितिको छ । बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक फणिन्द्रमणी पोखरेलले मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो । प्रजिअ पोखरेलले भने, मेलालाई सुरक्षित बनाउन माथिल्लो तहमा सुरक्षाकर्मीको माग गरेका छौं । आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने छ । मेला अवधिभर उक्त क्षेत्रमा मदिरा जन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरेको प्रजिअ पोखेरलले जानकारी दिनुभयो । बाराका प्रहरी प्रवक्ता डिएसपी रंजितसिंह राठौरले मंसिर पहिलो साता ट्राफिक प्रहरी सहित एक सय सुरक्षाकर्मी मेलाका लागि परिचालन हुनेछन् । भीड बढ्दै गएपछि मंसिर १० गतेदेखि सात सयको सँख्यामा ट्राफिक प्रहरी सहित नेपाल प्रहरी खटिने राठौंरले जानकारी दिए । मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको छ । मेलाको समयमा ड्रोन केमराबाट समेत निगरानी गर्ने तयारी गरिरहेको राठौंरले बताउनुभयो । यस्तो छ पशुबलीको तयारी र विरोध मेला नजिकिए सँगै पशु बलीको पक्ष र विपक्षमा बहस भइरहेको छ । पशुको संरक्षण र अधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाले पशुबली नचढाउन आग्रह गर्दै अभियान चलाइरहेका छन् । तर गढीमाई मेला बलीका लागि प्रसिद्ध छ । धार्मिक आस्थासँग जोडिएको बली प्रथा नियन्त्रण गर्न भने सहज छैन् । आफ्नो मनोकांक्षा पूरा भएको भन्दै भक्तालुले गढीमाईमा आफ्नो क्षमता अनुसार बली चढाउने गरेका छन् । बलीका लागि मेला समितिले बधशालाको तयारी गरिरहेको छ । बधशाला भित्र राँगाको मात्रै बली चढाइने गरिएको छ । राँगाबाहेक अन्य पशुपंक्षीको बली मन्दिर परिसर र वरपरको क्षेत्रमा हुने गरेको छ । दलित समुदायद्धारा सिनो बहिष्कार दलित समुदायले सिनो बहिष्कार गर्ने निर्णय गर्दै बली चढाएका राँगाको मासु नखान अभियान चलाएका छन् । बली चढेका राँगाको मासु दलित समुदायले लैजाने गरेका थिए । दलित समुदायका अगुवाले अघिल्लो मेलामा पनि सिनो बहिष्कारको अभियान चलाएका थिए । तर यसपटक दलित समुदायको भेलाले सिनो बहिष्कार गर्ने निर्णय गरेको छ । मेला समितिले हाट बजार, मनोरञ्जन र पार्किङको ठेक्का लगाएपनि यसपटक बली चढेका राँगाको मासुको ठेक्का लगाएको छैन् । अघिल्लो मेलामा समितिले बली चढेका राँगाको ठेक्का लगाएपनि स्थानीय दलित समुदायले बली चढेका राँगा आफैले लगेका थिए । अघिल्लो मेलामा अभियान असफल भएपछि दलित समुदायका अगुवाले यसपटक महिनौं दिन अघिदेखि सिनो बहिष्कारको अभियान थालेका थिए ।