प्रदेश ३ ले बजेट कार्यान्वयन गर्न तालिका बनाउने

हेटौंडा–प्रदेश ३ सरकारले आगामी आबको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनको लागि समय तालिका नै बनाएर काम अघि बढाउने भएको छ । आगामी आवको बजेटमाथि प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिने क्रममा आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले भदौ महिनादेखि नै बजेट कार्यान्वयन सुरु हुने बताए ।

‘हामीले चालु आबमा बजेट खर्च गर्न नसक्दा धेरैको चासो, चिन्ता र आलोचना पनि भयो, आउँदो वर्ष यस्तो हुँदैन, हामीले समय तालिका नै बनाएर योजनाको कार्यान्वयन सुरु गर्छौं ।’ मन्त्री ढुङ्गेलले भने । कुन समयमा के गर्ने भन्ने बारेमा समय तालिका निर्धारण गरी तदारुकताका साथ लागू गर्ने बताउँदै मन्त्री ढुङ्गेलले आगामी आबमा अधिकतम बजेट खर्च गर्न प्रदेश सरकार सफल हुने दाबी गरे ।

असार ५ र ६ गते भएको भएको आगामी आवको बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सांसदहरुले चालु आवमा बजेट खर्च नभएको भन्दै सरकारको आलोचना गरेका थिए । आगामी आवमा पनि बजेट खर्च गर्न चुनौती रहेको भन्दै बजेट कार्यान्वयनको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका थिए । सांसदहरुको प्रश्नको जावाफ दिने क्रममा मन्त्री ढुङ्गेलले भने–‘अबको बजेटको चुस्त, दुरुस्त र पारदर्शी कार्यान्वयन गर्न हामीले वैज्ञानिक प्रणाली अपनाई लागू गर्दैछौं, तपाईहरु ढुक्क हुनुहोस्, सरकारले आगामी वर्ष उल्लेख्य प्रगति गर्छ ।’

प्रदेशको बजेटले निजी र सहकारी क्षेत्रलाई समेटेर अघि बढ्ने नीति लिएको भन्दै उनले निजी–सरकारी साझेदारी कार्यक्रममार्फत बजेट खर्च गरिने स्पष्ट गरे । बजेटले अल्पसंख्यक, दलित, उत्पीडित समुदायलाई उचित सम्बोधन गरेको पनि मन्त्री ढुङ्गेलले दावी गरे । प्रदेशका प्रत्यक्ष सांसदहरुलाई पूर्वाधार विकास कार्यक्रममार्फत रकम बाँड्न लागिएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री ढुङ्गेलले प्रदेशको सन्तुलित विकासको लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम ल्याइएको बताए । प्रदेशका प्रत्यक्ष तथा समानुपातिक सांसदहरुकै सहभागितामा योजना छनौट गरी कार्यान्वयन गरिने उनले बताए । प्रदेश पूर्वाधार विकास कार्यक्रमको लागि प्रदेश सरकारले एक अर्ब ९८ करोड रुपैयाँ छुट्याएको छ ।

पुँजीगत खर्चभन्दा चालु खर्च किन बढी राखियो भन्ने सांसदहरुको प्रश्नमा उनले कर्मचारीको तलब, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रगत रकम चालु खर्चतर्फ राख्नुपर्ने भएकाले प्रशासनिक खर्च बढी देखिएको उनको भनाइ छ । चालु आवमा प्रदेशको राजस्व संकलन प्रक्षेपण गरिएअनुरुप नै हुने भन्दै मन्त्री ढुङ्गेलले आगामी वर्ष राजस्व संकलनको कामलाई व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता जनाए ।

दुई विधेयक प्रमाणीकरण
प्रदेश ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले दुई विधेयक प्रमाणीकरण गरेकी छन् । आइतबारको प्रदेशसभा बैठकमा उपसभामुख राधिका तामाङले प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेको पत्र पढेर सुनाएकी थिइन् ।

प्रदेश बिउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणकीरण भएको हो । हालसम्म प्रदेशसभाबाट ३१ वटा विधेयक पारित भइसकेको छ भने ३० वटा प्रमाणीकरण भइसकेको छ ।

प्रदेश सरकार सञ्चालन गर्न एक सयवटा कानुनको यसअघि नै पहिचान गरिसकिएको छ । आइतबारको बैठकमै शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले जलचर संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयकमाथि समितिले बनाएको प्रतिवेदन प्रदेशसभामा पेश गरेका छन् ।