नगरको विकट क्षेत्रमा बन्ने भो स्वास्थ्य चौकी

हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको–१ नम्बर वडाको सञ्चमायाको डाँडामा स्वास्थयचौकीको शिलान्यास भएको छ ।

शनिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । उपमहानगरपालिका र स्थानीयको लागत सहभागितामा करिब ६० लाख रुपैयाँ खर्चिएर स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो ।

स्वास्थ्य चौकी निर्माणको लागि हेटौंडा उपमहागरपालिकाले ४८ लाख रुपैयाँ र स्थानीयको लागत सहभागिताबाट १२ लाख रुपैयाँ गरी ६० लाख रुपैयाँ खर्च हुने बताइएको छ । विकट क्षेत्रमा रहेका बासिन्दालाई सामान्य उपचारको लागि पनि घण्टौं हिँडेर हेटौंडा बजार झर्नुपर्ने बाध्यता टार्न स्वास्थ्यचौकी निर्माण थालिएको वडा अध्यक्ष न्यौपानेले बताए ।

स्वास्थ्य चौकी निर्माण भएपश्चात १ नम्बर वडाका नकौली, लामीडाँडा, घट्टखोला, माथिल्लो मैनटार र १९ नम्बर वडाका केही क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् । स्वास्थ्य चौकी निर्माण पश्चात १ नम्बर वडा र १९ नम्बर वडाका गरी ४ हजार जनाले प्रत्यक्ष रुपमा सेवा लिन सक्ने वडा अध्यक्ष न्यौपानेको भनाइ छ । स्वास्थ्य चौकी जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।