परराष्ट्रविद् श्रेष्ठलाई हेटौंडामा रथारोहण

हेटौंडा — परराष्ट्रविद् पूर्वराजदूत, पूर्वसांसद, लेखक तथा पत्रकार हिरण्यलाल श्रेष्ठलाई शनिबार हेटौंडामा रथारोहण गराइएको छ ।

एक समारोहबीच उनलाई सम्मानका साथ रथमा चढाएर बजार घुमाइएको हो नेवा सांस्कृतिक पुचःको आयोजनामा श्रेष्ठलाई ७७ वर्ष ७ महिना ७ दिन उमेर पार गरेको अवसरमा सम्मान गर्नुको साथै हेटौंडा बजारमा रथयात्रा गरिएको थियो ।

बाजागाजासहित उनलाई रथमा राखेर बजार परिक्रममा गराइएको थियो । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा श्रेष्ठ दम्पतीलाई सम्मान गरिएको थियो । सभामुख श्रेष्ठले हिरण्यलाल बहुमुखी प्रतिभाको धनी व्यक्तित्व हुनुको साथै राष्ट्रवादी भएको बताए । कार्यक्रममा हेटौडाका विभिन्न समुदायका अगुवाहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नेवा सांस्कृतिक पुचः मकवानपुरको सल्लाहकारसमेत रहेका श्रेष्ठले विभिन्न विषयमा ३० वटा पुस्तक प्रकाशन गरिसकेका छन् । उनी मकवानपुरको भीमफेदीमा जन्मेका हुन् । उनले विभिन्न क्षेत्रमा लामो समय योगदान गरी हेटौंडा र देशलाई नै चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै रथारोहण र सम्मान गरिएको हो ।