जुत्तामा लुकाएर ८५ लाखको सुन, हेटौंडा रातोमाटेबाट किशोर पक्राउ

हेटौंडा – भन्सार छली ल्याइएको अवैध सुनसहित मकवानपुर प्रहरीले एकजना पक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा हेटौंडा–१५ रातोमाटेबाट एक केजी छसय ४९ ग्राम आठसय ९० मिलिग्राम अबैध सुनसहित भोजपुर षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर ल्वागुन बिकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय हेटौंडा–९, पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमार्डौैंबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बसमा यात्रारत विकलाई सुनसहित पक्राउ गरेको हो ।

बिहीबारको बजार मूल्यअनुसार उक्त अवैध सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँ रहेको जिल्ला प्हरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । विकले लगाएको जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर सुन वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका विकले यसअघि पनि अवैध सुनको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले बताए । बरामद गरिएको वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइने उनले बताए ।