काँग्रेसको जागरण अभियान आजदेखि, यस्तो छ मकवानपुरको कार्यक्रम

हेटौंडा– संगठन विस्तार, पार्टीले ल्याएको नयाँ बिधानबारे जानकारी दिने र वर्तमान सरकारले गरेको जनविरोधी कामको बारेमा भण्डाफोर गर्ने भन्दै नेपाली काँग्रेसले आजबाट देशव्यापी रुपमा जागरण अभियान सुरु गर्न लागेको छ ।

देशव्यापी कार्यक्रमअनुसार काँग्रेस मकवानपुरले पनि आज पार्टी कार्यालय हेटौंडा–२ मा एक कार्यक्रमकाबीच जागरण अभियानको सुरुवात गर्ने जनाएको छ । पर्टीका केन्द्रीय प्रतिनिधि सहमहामन्त्री डा. प्रकाशशरण महत हेटौंडा आइसकेका छन् । महतको प्रम्ुख आतिथ्यतामा कार्यक्रम हुनेछ । बैशाख ११ गतेबाट सुरु हुने भनिएको सो जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित गरिएको थियो ।

जागरण अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । बैशाख २५ गतेबाट जेठ २५ गतेसम्म संचालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा संचालन गरिनेछ । त्यसैगरी काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तीको अवसर पारेर सुभारम्भ हुनेछ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा संचालन हुने पनि प्रवक्ता शर्माले बताए ।

हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत संचाचलन हुने सो राष्ट्रिय जागरण अभियान अन्तरगतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सूरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसले आज बुधबारबाट सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

मकवानपुरमा जागरण अभियान उद्घाटनसँगै २६ गते भातृ संगठनहरुले आफ्नो वर्ग र मुद्दालाई समेटी कार्यक्रम गर्ने नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए । त्यसैगरी २७ गते पार्टीको शुभेच्छुक संस्थाहरुले जागरण अभियानको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

४ वटा क्षेत्र रहेको मकवानपुरमा जेठ २५ गतेभित्र क्षेत्रीय तथा स्थानीय तहस्तरको कार्यक्रम घोषणा गरिएको छ । क्षेत्र नम्बर ४ को कैलाश गाउँपालिका, क्षेत्र नम्बर २ र थाहा नगरको कार्यक्रम थाहानगरमा, क्षेत्र नम्बर ३ को हेटौंडा र क्षेत्र नम्बर २ को कार्यक्रम बकैयामा राखिएको छ । हेटौंडा उपमहानगर समितिले पनि छुट्टै जागरण अभियान गर्ने कार्यक्रम तय भएको छ । अन्य स्थानीय तह र वडाहरुले आफैंले अनुकुल मिलाई जागरण अभियान गर्ने पार्टी प्रवक्ता कोइरालाले बताए ।