आर्मीको जागिर छाडेर बाख्रा पाल्दै नेवारपानीको उस्मान

गणेश दर्पण अधिकारी

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाका एक युवाले नेपाल आर्मीको जागिर छोडेर व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । नेवारपानीका उस्मान वाइबाले १३ बर्ष भैसकेको आर्मीको जागिर छोडेर बाख्रा पालन सुरु गरेका हुन् ।

गत बर्ष भदौदेखि नेवारपानीमै बाख्रा पालन सुरु गरेका वाइबाको खोरमा अहिले ६७ वटा बाख्रा रहेको छ । आर्मीको जागिर भन्दा व्यवसायमै भविष्य देखेर बाख्रा पालन सुरु गरेको उनले बताए । ‘१३ बर्षको सरकारी जागिर पश्चात उपदान लिएर गाउँमै बाख्रा पालन सुरु गरेको हुँ’, उनले भने, ‘२० वटाबाट पाल्न सुरु गरेको थिएँ अहिले साना पाठापाठी समेत गरी ६७ वटा पुगेको छ ।’ अहिले खसीबोका तथा बाख्रा बेच्न भन्दा पनि बढाउन लागिपरेको उनले जानकारी दिए ।

अस्मानलाई उनको परिवारले बाख्रा पालनमा साथ दिइरहेका छन् । ‘श्रीमती बाख्रा चराउन जाने र म खोरको सफाई तथा दानापानीको व्यवस्था गर्ने गरेको छु’, उनले थपे, ‘स्कूल नभएको बेला बालबच्चाले पनि सघाउने गरेका छन् ।’ बाख्रा पालन कार्यलाई अझै बढाउने योजना रहेको उनले सुनाए ।

जागिरबाट सामान्य रुपमा जीन्दगी चलाउनै पनि मुस्किल अवस्था भएपछि सहकारी संस्थाबाट ऋण लिएर बाख्रा पाल्न सुरु गरेको वाइबाले बताए । उनको व्यवसायिक बाख्रा पालनलाई १९ नम्बर वडाले समेत सहयोग गरेको छ । बाख्रा पालन सुरु गर्दा ५ हजार रुपैयाँ सहयोग गरेको वडा कार्यालयले उनको लगानीको ५० प्रतिशत उपमहानगरपालिकाले सहयोग गर्नुपर्ने आवाज उठाउँदै आएको छ । वडा अध्यक्ष नरनाथ सुवेदी नवराजले गाउँमै स्वरोजगार बन्न चाहने युवाहरुलाई उपमहानगरपालिका र वडा कार्यालयले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

हेटौंडाबाट प्रकाशित प्रदेश दैनिकमा यो समाचार छ ।