दुईसय घरधुरीको तिर्खा मेटाउने फापरबारीको यो पँधेरो

हेटौंडा — बिहान ३ बजेदेखि पँधेरामा पानी भर्नेको लाइन लाग्ने गर्छ । बिहानदेखि अबेरसम्म पानी थाप्ने, लुगा धुने र नुहाउनेको भीड लागिरहन्छ । मकवानपुरको पूर्वी क्ष्ाेत्रमा पर्ने वाग्मती गाउँपालिका-६ फापरबारी बजारमा पानी थाप्ने पधेँरो एउटा मात्र छ ।

करिब २ सय घरधुरी रहेको फापरबारी बजारका बासिन्दाको यही एउटा पधेँराले तिर्खा मेटदै आएको छ । ‘गर्मीयाम लागेपछि पानी सुक्दै जान्छ,’ स्थानीयबासी भक्तबहादुर राईले भने, ‘पानी पर्न थालेपछि धारामा पानी पनि बढ्छ ।’ पधेँरामा २ वटा धारा छन् ।

चार दशकअघि गाउँलेहरू मिलेर मूल फुटेको स्थानमा २ वटा धारा जडान गरेका थिए । ‘अहिलेसम्म पनि त्यही पानीमा निर्भर छन् फापरबारी बजारका बासिन्दा,’ स्थानीय व्यापारी वीरबहादुर साहले भने, ‘ती धारा सुके भने बजारमा पानीको हाहाकार हुन्छ ।’ २४ सै घण्टा जस्तो पँधेरो खाली हुँदैन । पानी भर्न, नुहाउन र लुगा धुन भ्याइनभ्याई भए पनि पधेँरा वरिपरि सफा गर्न भने कसैलाई फुर्सद छैन । आजको कान्तिपुर दैनिकमा प्रताप विष्टले यो समाचार लेखेका छन् ।