भूकम्पको चार वर्ष: मकवानपुरमा ३४ हजार घर बन्नुपर्नेमा बल्ल ११ हजार बने


हेटौंडा– नेपालमा ठूलो जनधनको क्षति हुने गरी महाभूकम्प गएको आज ४ वर्ष पुगेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते दिनको करिब १२ बजेको समयमा गएको महाभूकम्पबाट झण्डै १० हजार जनाले ज्यान गुमाए भने कयौं संरचना ध्वस्त भए । तर, भूकम्प गएको चारवर्ष बितिसक्दा पनि पुननिर्माणको काम भने सन्तोषजनक नरहेको तथ्याङ्कले देखाएको छ । मकवानपुरमा निजी आवास पुननिर्माणमा उल्लेख्य प्रगति हुन नसेकेको पाइएको छ ।

जिल्लामा हालसम्म ३४ हजार २ सय ७८ लाभग्राहीको पहिचान भए पनि हालसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या भने ११ हजार ६ सय ८५ मात्र रहेको छ । अन्यले पहिलो, दोस्रो र तेस्रो किस्ता लिएर काम गरिरहेका छन् भने सरकारको मापदण्डभित्र नपरेका ६ हजार ६ सय ७३ भूकम्पपीडित लाभग्राहीले भने घर निर्माणको सम्झौतासमेत गर्न सकेका छैनन् । त्यसमध्ये अधिकांश भूमिहीन रहेका छन् भने केहीले आफैंले घर निर्माण गरेकाले वा अन्य स्थानमा पनि घर भएकाले सम्झौता गरेका छैनन् । पहिचान भएका लाभग्राहीमध्ये २७ हजार ६ सय ५ जना लाभग्राहीले पुननिर्माणको लागि सम्झौता गरिसकेका छन् ।

३ हजार ८ सय ७५ जना लाभग्राहीको गुनासो अझै सम्बोधनकै क्रममा छ । गत चैत १५ गतेदेखि मकवानपुरका १० वटै स्थानीय तहमा खटिएका इन्जिनियरले गुनासोकर्ताको घर सर्वेक्षण गरिरहेका छन् । १० वटा स्थानीय तहमा १० जना इन्जिनियर खटिइएर काम गरिरहेका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरका इन्जिनियर रविन पाठकले जानकारी दिए । उनीहरुले वैशाख मसान्तसम्म सर्वेक्षण गर्ने त्यसउता पनि अझै लाभग्राही थपिन सक्ने उनले बताए ।

सम्झौता गरेका मध्ये २६ हजार ९ सय ३५ जनाले पहिलो किस्ताबापतको ५० हजार लिएका छन् भने २० हजार एकसय २६ लाभग्राहीले दोस्रो किस्ताको रकम एक लाख रुपैयाँ बुझेका छन् । त्यस्तै १४ हजार २ सय ९४ लाभग्राहीले हालसम्म तेस्रो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँसमेत पाइसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाईले जनाएको छ । आवास पुननिर्माणबाहेक १२ हजार ६ सय ४३ परिवारको घर मर्मत (प्रवलीकरण) गर्नुपर्ने पहिचान भएको छ ।

जसमध्ये ६ हजार २ सय ६२ लाभग्राहीले मात्र प्रवलीकरणको लागि सम्झौता गरेका छन् । दुई किस्ता गरी एक लाख रुपैयाँ प्रबलीकरणको लागि छुट्याइएकोमा ६ हजार ८३ लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि लगिसकेका छन् । तर, दोस्रो किस्ताको रकम भने कसैले पनि पाउन सकेका छैनन् । मकवानपुरमा २६ घरधुरीको बस्ती जोखिममा परेकोमा २० घरधुरीलाई अन्यत्र जग्गा खरिद गराई स्थानान्तरण गराइसकिएको छ ।