कपडा पसलमा आगलागी हुदा ३ जना बालबालिकाको मृत्यु

रौतहट,८ मंसिर
रौतहट सदरमुकाम गौरमा गएराति आगलागी हुदा ३ जना बालबालिकाको मृत्यु भएको छ। गौर नगरपालिका वाड नं. १ माईस्थान चौकस्थित इस्लाम कपडा–डसना पसलमा बुधबार राति ११ बजे आगलागी हुदा ति बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा इस्लाम मियाकी ९ वर्षकी छोरी रुक्साना खातुन, ५ वर्षकी छोरी सबिना खातुन र ७ वर्षको छोरा इमरान मन्सुरी रहेको प्रहरीले जनाएको छ। यसै गरी घाइते हुनेमा इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरान र २४ वर्षकी नसिमा खातुन छन्। घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा खातुन लडेर घाइते भएको प्रहरीले जनाएको छ।
पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत सर्ट भई लागेको आगोले ठूलो क्षति पुर्‍याएको छ। आगलागीले तीन बालबालिकाको घटनास्थलमै जलेर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए। सुतेकै अवस्थामा आगलागी भएको हुँदा ठूलो मानवीय तथा धनमालको क्षति हुन पुगेको स्थानीयले बताएका छन्।
मृतक सबैको शव गौर अस्पतालमा राखिएको छ। यसैगरी घाइते तीन जनाकै उपचार गौर अस्पतालमा भइरहेको छ।कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा पनि आगोले ठूलो क्षति पु¥याएको छ। ग्यारेजमा बनाउनलाई राखिएका दर्जनौँ मोटरसाइकल जलेका छन्। मोटरसाइकल बनाउने ग्यारेजमा रहेका मोटरसाइकलको पेट्रोल तथा ग्यालेनमा रहेको पेट्रोलमा आगो सल्केपछि झन् खतरनाक स्थितिका सिर्जना भएको थियो। घटनामा करिब ४० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सूचना अधिकारी प्रहरी नायव उपरीझक सुनिल मल्लले जनकारी गराएका छ्न । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको छ। गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले घटना निकै दुःखद भएको जानकारी दिँदै पीडितलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताएका छन्।