रौतहट, २३ बैशाख– नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकिकृत समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल बहुरुपिया भएको आरोप लगाएका छन ।
रौतहट सदरमुकाम गौरमा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई अनिर्णयको बन्दी बनाउन खोज्ने माधव नेपाल सहितका बघरुपियाहरु बाहिरिएर पार्टी शुद्धीकरण भएको बताए
निहित स्वास्र्थ पूर्तिका निम्ती बघरुपियाहरुको गठबन्धनमा बनेको सरकारले देशको दस महिना खेर फालेको आरोप लगाएका छन् ।
‘एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम गरेन,’ उनले भने, ‘सत्ता र शक्तीको प्रभावमा निजी स्वास्थ्र्य पुर्ति काम गठबन्धनका नेताले गरीरहेका छन ।’ गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने ठोकुवा गरेका छन ।
गठबन्धनको चितवनमा बिहीबार भएको संयुक्त आमसभामा बोलेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यको खरो आलोचना समेत एमाले अध्यक्ष ओलीले गरेका छन् ।
नेपालले नेकपा एमालेलाई चितवनमा कुहिएको फर्सी भन्ने आरोप लगाएको प्रति प्रतिबाद गर्दै ओलीले नेपाललाई नै कुहिएको फर्सी र कुलङ्गार भएको आरोप लगाएका छन् ।
१५ वर्षसम्म पार्टीको प्रमुख रहेको र देशको प्रधानमन्त्री बनाएको पार्टीलाई आरोप लगाएर नेपालले आफ्नो बघरुपिया रुप प्रदर्शन गरेको पुर्व प्रधानमन्त्री ओलीले बताए ।
माधव कुमार नेपाल नातावादमा अल्झिएको आरोप लगाउँदै पुर्व प्रधामन्त्री ओलीले रौतहटको विकासलाई पछाडी पार्न वाधक बन्ने काम समेत गरेको आरोप लगाए ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृहनगरमा आएर ओलीले नेपाल प्रति अनेक आरोप लगाएका छन् । आफूले पचास वर्षअघि महेन्द्र मोरङ क्याम्पसमा माधवकुमार नेपाललाई राजनीतिमा आउन प्रेरित गरेको बताउँदै ओलीले सर्पलाई बिष खुवाएको सरह अहिले आफूलाई लागेको भनी पछुतो गरेका छन् ।
यसैगरी बिहीबारको चितवन सभामा आफ्नी छोरीलाई भोट नदिए देशमा दुर्घटना हुने बताएका प्रचण्ड प्रति आक्रोशित हुँदै ओलीले चितवनका जनताले डर र धम्कीविरुद्ध सल्लाह गरिरहेको बताए ।
ओलीले प्रचण्डको धम्किलाई रुखको हाङ्गामा बसेर हाङ्गा हल्लाउँदै मान्छे तर्साउने बादरको संज्ञा समेत दिएका छन ।
४९ वर्षअघि रौतहटमा भूमिगत बसेर राजनीति गरेको बताउँदै यहाँको जेलमा बसेर हत्कडी लगाई बिरगंज हुँदै काठमाडौं पुर्याइएको पनि ओलीले सम्झेका छन् ।
रौतहटसंग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको बताएका ओलीले जिल्लाको विकासमा आफूले महतपूर्ण योगदान दिएको बताए ।
जिल्लाको एउटा समस्याको रुपमा रहेको बगमती नदीमा पुल निर्माण आफूले मात्रै गर्न सक्ने ठोकुवा गर्दै नेता ओलीले करिब दुई दशक अघि फोटो खिचाउन मात्र माधव नेपालले पुलको सिलान्यास गरेको आरोप लगाएका छन् ।
कुनै ताका एमाले र ओलीलाई मधेसमा प्रवेश निषेध गर्नेहरुले आफ्नो पेट मात्रै भरेको तथा जनताको समस्यालाई जहाँको त्यही छाडेको बताउँदै ओलीले मुख्य गरी मधेसवादी दलप्रति कटाक्ष गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी समिति सदस्य प्रभु साहले नेकपा एमालेले मात्रै मधेसको विकास गर्ने बताएका छन् ।
मधेस प्रदेश सरकारले संघियता र समावेशीताको आधारमा केही पनि गर्न नसकेको बताउँदै एमालेको नेतृत्वमा देश र मधेस समृद्व हुने बताएका छन ।
एमालेका जिल्ला ईन्चार्ज उपेन्द्र साहको अध्यक्षमा भएको कार्यक्रममा रौतहटका प्रभावशाली नेता बबन सिंह सहित रौतहटको १८ वटै पलिकाका प्रमुख, उपप्रमुख, जिल्ला नेता कार्यकर्ता लगायतको उपस्थिती थियो ।
यसैगरी पुर्व प्रधामन्त्री ओलीले एमालेद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरेका थिए