शपथ ग्रहण सँगै विभिन्न निर्णय गर्दै एमाले रौतहटको पहिलो बैठक सम्पन्न

गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार रौतहटको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहण लगत्तै बसेको जिल्ला कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले बाँकी रहेका वडा कमिटीहरुको गठन तथा एकतासहितको पुनर्गठन गर्ने निर्णय गरेको छ । भोलि चैत्र २१ गते एकैसाथ सम्पूर्ण वडाहरुको अधिवेशन तथा बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र २६ गतेभित्र बाँकी रहेका पालिका कमिटीहरुको एकता अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले चैत्र २६ गते सम्पूर्ण वडा कमिटीहरुको बैठक बसी वडाका उम्मेदवार तथा २८ गते नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत गर्न नभए कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको हो । साथै, चैत्र ३० गते भित्र जनसंगठनहरुको वडादेखि जिल्लासम्मको कमिटी गठन गर्न सम्बन्धित जनसंगठनलाई निर्देशन दिएको छ । बैठकले निवेश यादवलाई सञ्चार तथा प्रचार प्रसार प्रमुखको जिम्मेवारी दिएको छ भने गौरस्थित जिल्ला कार्यालयको सचिवमा राजेश साह, गरुडास्थित कार्यालयमा विजय साह र अन्जनी साह तथा चन्द्रपुर कार्यालयमा प्रहलाद पौडेललाई जिम्मेवारी दिएको छ ।