माओवादी नेता-कार्यकर्ता भित्र्याउन लेखराज र प्रभु साह लिएर आज झापा जाँदै ओली, यस्तो कार्यतालिका

काठमाडौ, ७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्लातर्फ जाँदै हुनुहुन्छ । पार्टी तीनजना शीर्ष नेतालाई लिएर अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नेछ।

नेकपा एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि झापा जान लाग्नुभएको हो । सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

दिउँसो १२ बजे साई पार्टी प्यालेसमा हुने कार्यक्रममा माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन्। यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने छ । भोली बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुने कार्यक्रम रहेको छ। भोलि साँझ ओलीले विराटनगरमा कार्यकर्ता भेलामा सहभागी हुनुहुने कार्यक्रम छ। ओली कार्तिक ९ गते बिहान काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।साभार जनता टाइम्स