प्रदेश ३ को बजेटः आकार बढ्यो, पुँजीगत खर्च घट्यो

हेटौंडा–प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आवको तुलनामा ११ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बढीको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका हुन् ।

चालु आवमा विकास खर्चमा उल्लेख्य खर्च गर्न नसकेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पुँजीगत खर्चको प्रतिशतसमेत घटाएको छ । चालु आबमा ६१ दशमलव ०८ प्रतिशत पुँजीगत बजेट छुट्याएको प्रदेश सरकारले आगामी वर्ष भने पुँजीगत बजेटको प्रतिशत घटाएर ४८ प्रतिशतमा सीमित गरेको छ ।

आगामी वर्ष चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैयाँ अर्थात ५१ प्रतिशत बजेट विनियोजन गरेकोमा पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४८ प्रतिशत मात्र विनियोजन गरेको छ । वित्तीय व्यवस्थातर्फ कुल बजेटको एक प्रतिशत अर्थात ३० करोड रुपैयाँ छुट्याइएको छ । आन्तरिक राजस्व संकलनको लक्ष्य पनि बढी रहेको छ । आगामी वर्ष १५ अर्ब ४९ करोड ९६ लाख आन्तरिक राजस्व संकलनको अनुमान गरिएको छ । यद्यपी चालु आवमा आन्तरिक स्रोतबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार उठाउने राजस्व उठाउने लक्ष्य लिइएकोमा ८ अर्ब ३५ करोड १० लाख मात्र संकलन हुने संशोधित अनुमान गरिएको छ ।

प्रदेश सरकारले आगामी वर्ष अन्तर सरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य लिइएको छ । अन्य राजस्वतर्फ ७ अर्ब ३० करोड अनुमान गरिएको छ । प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ ।

त्यस्तै २ अर्ब ४० करोड समपुरक अनुदान दिनेछ । स्थानीय तहलाई ४० करोड विशेष अनुदानको व्यवस्था गरिएको छ । पछि पहिचान हुने कार्यक्रमको लागि भन्दै प्रदेश सरकारले स्थानीय तहलाई एक अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै स्थानीय तहको शिक्षा तथा स्वास्थ्यतर्फ ५८ करोड ८१ लाख रुपैयाँ सशर्त अनुदान दिइने बताइएको छ । चालु आर्थिक वर्ष २०७५ ७६ मा प्रदेशको कुल सरकारी खर्चको तुलनामा ७८ प्रतिशत अर्थात रु २७ अर्ब ८८ करोड १२ लाख खर्च हुने संशोधित अनुमान गरेको छ । प्रदेशले चालु वर्षमा ३५ अर्ब ६१ करोडको बजेट बिनियोजन गरेको थियो ।

सांसदका योजनालाई एक अर्ब ९८ करोड

प्रदेश सांसदहरुले प्रत्यक निर्वाचन क्षेत्रबाट छनौट गरी ल्याएका योजनामा प्रदेश सरकारले एक अर्ब ९८ करोड बिनियोजन गरेको छ । सांसदहरुले प्रत्येक निर्वाचन क्षेत्रबाट ५० करोडको एउटा र १०/१० करोडको तीन वटा योजना छनौट गरिएको थियो । प्रदेश ३ मा ६६ वटा निर्वाचन क्षेत्रमा छनौट भएका योेजनामा एक अर्ब ९८ करोड रुपैयाँ खर्च गरिनेछ ।

कृषि र भौतिक पूर्वाधार विकासमा जोड

प्रदेश सरकारले आगामी आवमा कृषि क्षेत्रको विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट बनाएको छ । स्वास्थ्य र शिक्षामा पनि प्रयाप्त बजेट बिनियोजन गरेको छ ।

१३ वटै जिल्लामा कम्तीमा एउटा कृषि प्रवद्र्धन कार्यक्रमको लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । दुग्ध कृषकलाई प्रतिलिटर रु १ अनुदानका लागि १२ करोड रुपैया बिनियोजन गरिएको छ । कृषि ऋण लिई कृषि व्यवसाय गर्ने कृषक, कृषक समूह, कृषि सहकारी, निजी व्यवसायीको लागि प्रदेश सरकारको तर्फबाट एक प्रतिशत ब्याज अनुदानका लागि ५ करोड छुट्याइएको छ ।

५ वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर, तीनवर्षभित्र फलफूल, पुष्प, मह, च्याउ, माछा,मासु अण्डा र दूधमा आत्मनिर्भर बनाउनको लागि बजेट छुट्याइएको छ । चीन सरकारबाट गाई र गाईको प्रविधि भिœयाइने पनि योजना बनाइएको छ । रामेछाप, रसुवा, सिन्धुपाल्चोक रा दोलखामा नमूना चौरी प्रवद्र्धन फार्म कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

प्रारम्भीक बाल शिक्षकहरुलाई प्रोत्साहनको लागि ६ करोड ५० लाख रुपैयाँ स्थानीय तहलाई वित्त हस्तान्तरण गर्ने पनि प्रदेश सरकारले बजेटमा घोषणा गरिएको छ । बहुप्राविधिक महाविद्यालय स्थापनाको लागि ११ करोड, सामुदायिक क्याम्पसहरुको भौतिक सबलीकरण गर्न २३ करोड, सामुदायिक विद्यालयहरुको स्वच्छ खानेपानी हरित विद्यालय तथा भौतिक पूर्वाधारको लागि २४ करोड रुपैयाँ छुट्याइएको छ । कम्प्युटर ल्याब र ई पुस्तकालयको लागि ७ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
लोपोन्मुख, अल्पसंख्यक, अति सिमान्तकृत, एवम् विपन्न वर्ग तथा समुदाय र हिमाली तथा विकट पहाडी जिल्लास्थित सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई स्नातक तथा स्नातकोत्तर अध्ययनमा छात्रवृत्ति उपलब्ध गराउन ‘छोरी बुहारी छात्रवृत्ति कार्यक्रम’ पनि सञ्चालन गरिने बताइएको छ ।

चालु आवबाट लागू भएको मुख्यमन्त्री जनता स्वास्थय परीक्षण कार्यक्रम निरन्तरता दिइने घोषणा गरिएको छ । स्वास्थ्य परीक्षण बर्ष घोषणा, ३० वर्ष माथिकालाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गर्ने कार्यक्रमको लागि ११ करोड बिनियोजन गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिदै ६ करोड ६५ लाख बजेट छुट्याइएको छ । सामुदायिक अस्पताललाई सुविधा सम्पन्न बनाउन ४१ करोड छुट्याइएको छ ।

युवा तथा खेलकुदतर्फ चालु आवको निरन्तरतासहित खेलकुद पूर्वाधार विकास गर्न ६८ करोड ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ । युवा बैज्ञानिक पहिचान र प्रोत्साहनको लागि ५ करोड छुट्याइएको छ ।

अनुमानित ५ लाख घनफिट काठ उत्पादन हुने अपेक्षाका साथ वन क्ष्ँेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न स्थानीय समुदायसगको सहकार्यमा ६५ वटा सामुदायिक वनमा सिल्बी कल्चरमा आधारित वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ । मकवानपुरको मनहरी र सिन्धुलीको मरिणमा औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिइएको छ । ४ वर्षभित्र सम्पूर्ण स्थानीय तहको केन्द्रसम्म बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालको विकास गर्ने लक्ष्यका साथ बजेट छुट्याइएको छ । पुष्पलाल प्रदेश चक्रपथ र पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण गर्ने योजनाालाई गत वर्षको कार्यक्रमलाई निरन्तरता दिन बजेट बिनियोजन गरेको छ ।

खानेपानी तथा सरसफाइतर्फ एक घर एक धारा, सुख्खा क्षेत्रमा खानेपानी योजना, ढल व्यवस्थापन कार्यक्रम सञ्चालन, काठमाडौं उपत्यकालाई सफा र हरित शहरका रुपमा विकास गर्न २० करोड रुपैयाँ छुट्याइएको छ । सुरक्षातर्फ प्रदेशका १० जिल्लामा प्रहरी भवन ईकाई निर्माण सम्पन्न गर्न ८२ करोड ६५ लाख बजेट छुट्याइएको छ । सहिद बेपत्ता परिवारलाई सहयोग प्रदान गर्न ५ करोड रुपैयाँ छुट्याइएको छ र सहिदको नाममा पार्क बनाउन १० करोड बिनियोजन गरिएको छ भने पूर्वाधार निर्माणको लागि स्थानीय तह साझेदारी कार्यक्रम सञ्चालन गर्न दुई करोड १० लाख रुपैयाँ छुट्याइएको छ ।