हेटौंडा–संसदमा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक र बिचाराधीन तथा पाइपलाइनमा रहेका अन्य सञ्चारक्षेत्रसँग सम्बन्धित विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको भन्दै आन्दोलन गरिरहेको नेपाल प्रेस युनियन मकवानपुर शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।
मंगलबार दुई वटा औपचारिक कार्यक्रममा सहभागी हुन हेटौंडा आएका बास्कोटाको कार्यक्रम युनियनले बहिष्कारको घोषणा गरेको थियो । मिडियालाई नियन्त्रण गर्ने नियत राखी वर्तमान केपी ओली नेतृत्वको सरकार अधिनायकवादी शैलीमा अघि बढेको छ । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा ‘कू’ गर्न खोजिएको भन्दै नेपाल प्रेस युनियन मकवानपुर घोर भत्र्सना गरेको छ । त्यस्ता विधेयकहरु सच्याउने प्रतिवद्धता नआएसम्म युनियनले देशभर सञ्चार मन्त्रीको कार्यक्रम बहिष्कार गर्ने निर्णयअनुरुप मकवानपुरमा पनि बहिष्कार गरिएको हो ।
युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार र सचिव केशव समर्पणले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बास्कोटाले हेटौंडामा सहभागी भएको दुई वटै कार्यक्रम बहिष्कारको घोषणा गरेका थिए । बास्कोटा मंगलबार हेटौंडाको हुप्रचौरमा निर्माण भएको डाटा सेन्टर उद्घाटन र नेपाल टेलिभिजनको प्रदेश ३ ब्यूरो कार्यालय उद्घाटन गर्ने हेटौंडा आएका थिए ।
साथै मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा आज बुधबार जेठ १ गते देशैभरका शाखाहरुले अन्तरक्रिया गर्ने कार्यक्रमअनुसार मकवानपुरमा पनि अन्तरक्रिया राखेको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पनि आज बिहान सोही विषयमा अन्तरक्रिया राखेको छ । साथै केपी ओली नेतृत्वको सरकार बिरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने प्रैस युनियनले जनाएको छ ।