भ्रष्टाचार र अनियमितता विकासका शत्रु हुन्: उपराष्ट्रपति पुन

सञ्जय मित्र, रौतहट
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले भ्रष्टाचार र अनियमितता विकासको शत्रु भएको बताएका छन् । रौतहटको कटहरियामा जानकी जयन्ती समारोहमा उपराष्ट्रपति पुनले नेपाल र नेपालीले अनेकौँ पटक राजनीतिक संघर्ष गरेकाले अब विकास र समृद्धिका लागि संघर्ष र प्रतिस्पर्धा गर्ने वेला आएको बताए ।

अब प्रदेश–प्रदेश र स्थानीय तहहरुबीच विकास र समृद्धिका साथै सुशासनको लागि स्वस्थ्य प्रतिस्पर्धा गर्ने अवसर आएको बताउँदै उपराष्ट्रपति पुनले लामो संघर्षपछि प्राप्त राजनैतिक उपलब्धिहरुमा गौरव गर्न आग्रहसमेत गरे । नेपाल विविधताको देश रहेको र विविधतायुक्त संस्कृतिलाई पर्यटनको रुपमा विकास गर्न सकिने बताउँदै उपराष्ट्रपति पुनले मधेसको आफ्नै पहिचान रहेको स्पष्ट पार्नुभएको छ ।

सीमामा समस्या आउँदा मधेसीहरु नै पर्खाल बनेर उभिने गरेको बताउँदै किसान आन्दोलनको केन्द्र रहेको रौतहटको प्रशंसा गरे । प्रदेशमा पहिलोचोटि औपचारिकरूपमा राष्ट्रिय विभूति सीताको जन्म दिवस पारेर सीता जयन्ती मनाउने सुरुआत भएकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपति पुनले महिलामाथि हुने भेदभाव तथा हिंसाको उन्मूलनके लागि प्रेरणा सीताबाट लिन सकिने पनि बताउनु भएको छ । उपराष्ट्रपति पुनले सीतालाई त्याग, समर्पण तथा परिश्रमको प्रतिमूर्तिको रुपमा लिनुपर्ने बताउँदै महान नारीको संज्ञा दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं नेकपाको प्रदेश २ अध्यक्ष प्रभु साहले सीता जयन्तीले महिलाको सम्मान बढाएको बताएका छन् । संघीय संसदका सदस्यसमेत रहेका नेता साहले सीता जयन्तीलाई सांकेतिकरूपमा लिनुपर्ने बताएका छन् । साँसद साहले सीताको योगदानको चर्चा हुनुपर्ने र सीताले सामना गरेका चुनौती तथा संकटहरुसमेतबाट पाठ सिक्नुपर्ने र सीताको धरती प्रवेशलाई विद्रोहको रुपमा लिनुपर्ने पनि बताएका छन् ।

उपराष्ट्रपति पुनले कटहरिया नगरपालिकाको ऐन संग्रह २०७६ लाई लोकार्पण गरेका छन् । यसअघि उपराष्ट्रपति पुनले तराई–मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानको कार्यालय भवन तथा रेडियो कटहरिया एफएमको पनि उदघाटन गरेका छन् । पराष्ट्रपति पुनले माननीय साँसद सरला यादव, समीना हुसैन, मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साह, जिल्लाका सम्पूर्ण नगरपालिकाका उपमेयर, मावि तहका एकमात्र महिला प्रधानाध्यापक रेणु गुप्ता, पत्रकार रजनी ठाकुर, अल्पना यादव, राष्ट्रियस्तरको टिमका महिला खेलाडीहरुसहित करिब तीन दर्जनलाई सम्मानित गरेका थिए ।

कार्यक्रममा प्रदेश राज्यमन्त्री योगेन्द्र यादव, प्रदेश साँसद कुन्दन कुशवाहा, जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकबाल राय यादव, नेकपा नेता युवराज भटराई लगायतकाले सीता जयन्तीको महत्वको बारेमा प्रकाश पारेका थिए ।