घरी कोठा नम्बर ३, घरी कोठा नम्बर ४: नागरिकता पाउन सकस

प्रकाश सिलवाल/उत्तम कुमार उपाध्याय
रौतहट, ११ असोज (रासस) ः “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको सुनाउनुभयो । सदरकुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्रहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्रही पनि उही गुनासो रासससँग पोख्दै हुनुहुन्थ्यो ।
सोही नगरपालिका–२ का शीलाकुमारी पनि बच्चा बोकेर नागरिकता पाउन दैनिक धाइरहनुभएको छ । कर्मचारीले घरी कोठा नम्बर ३ त घरी कोठा नम्बर ४ मा जानुस् भनेर अल्मल्याइरहेको उहाँको दुःखेसो छ । राजदेवी नगरपालिका–५ का दिलिपकुमार महतोको दुई सातादेखिको नियमित काम जिल्ला प्रशासन कार्यालयमा आउनु भएको छ । आफ्नो नागरिकता के कारणले प्राप्त नभएको भन्ने थाहा पाउन नसकिएको उहाँको भनाइ छ ।
जिल्ला सदरमुकाम गौरस्थित जिल्ला प्रशासनको कार्यालयमा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ । प्रचण्ड गर्मी र कोभिड १९ को जोखिमबीच सर्वसाधारण विना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा झुम्मिरहेका देखिन्छन् । साना साना नानीहरु काखमा बोकेका महिलाहरु पनि सकीनसकी लाइनमा उभिएका छन् । दुई चार सय घुस दिन सक्ने वा पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने कार्यालयको क्षमताभन्दा दोब्बर संख्यामा नागरिकता जारी भइरहेको जिकिर गर्नुभयो । नागरिकता फाँटमा दुई जना मात्र जनशक्ति रहेको अवस्थामा दैनिक ६० नागरिकता दिन सकिने स्थितिमा एक सय ३० सम्म नागरिकता वितारण भइरहेको उहाँको भनाइ छ । सेवाग्राहीसँग कर्मचारीले घुस लिएको भन्ने गुनासो हुन नसक्ने जनाउँदै उहाँले स्थानीय तहले अनुसूची अनुसारका सबै कागजातसहित सिफारिश नगर्दा पनि समयमा काम हुन नसक्ने बताउनुभयो । कूल ३२ जना कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल २५ जना कार्यरत छन् । त्यसो त यो जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याकंनमा प्रदेश न. २ मा उत्कृष्टमा परेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षको साउन र भदौ महिनामा चार हजार नौ सय २२ ले नयाँ नागरिकता लिएका छन् भने एक हजार छ सय ५८ ले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै सोही अवधिमा दुई हजार तीन सय १८ ले राष्ट्रिय परिचयपत्र, एक हजार चार सय ३६ ले राहदानीको सिफारिश, चार सय ७६ ले दु्रत राहदानी सिफारिश लगेका छन् । सिफारिश भएका मध्ये चार सय ७६ राहदानी वितरण भएको छ । उक्त दुई महिनामा १५ नयाँ संस्था दर्ता र ९२ संस्थाले नवीकरण गराएका छन् ।
बंशजका आधारमा नागरिकता पाउन अनुसूची १ फारममा स्थानीय तहको सिफारिश, बाबु वा आमाको नागरिकता प्रमाणपत्र, सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको नागरिकताको प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत आवशयक पर्छ । यस्तै तिन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र पेश गर्नुपर्छ ।
प्रमाण पेश गर्न नसक्नेका लागि वंशजको नाताले नागरिकता लिनुपर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ बमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत चाहिन्छ । विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र, माइतीतर्फको वंशज खुल्ने नागरिकता, दुवै कान देखिने दुई प्रति फोटो, विवाह दर्ता प्रमाणपत्र र सनाखतसहित जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र बुझाउनुपर्छ । बसाइसराई गरी आउनेको हकमा उपरोक्त प्रमाणका अतिरिक्त बसाइसराई प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्रलगायतका कागजातहरु पेश गर्न जिल्ला प्रशासन कार्यालयको नागरिक वडापत्रमा उल्लेख गरिएको छ । वैवाहिक अंगीकृतका आधारमा र कर्मचारी परिवारका नाताले नागरिकता प्रमाणपत्र पाउन आवश्यक कागजात पनि जिल्ला प्रशासन कार्यालयले वेभसाइटमा समेत वडापत्रका रुपमा समावेश गरेको छ ।
–––
नागरिकता लिनेको भीड
रौतहट, ११ असोज (रासस) : रौतहट जिल्ला सदरमुकाम गौरस्थित जिल्ला प्रशासनको कार्यालयमा नागरिकता लिनका लागि आइतबार दिउँसो देखिएको भीड ।
तस्वीर : उत्तम कुमार उपाध्याय, रासस