बारामा आज बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी

बारा, साउन १८ गते । समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि बारा जिल्लामा आईतबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर उच्च जोखिम निम्तिने देखिएकाले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । छिमेकी जिल्ला पर्साको समुदाय स्तर तथा बारा जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बारा जिल्लाभरी आइतबार बिहान पाँच बजे देखि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर उच्च जोखिम सृजना हुने देखिएकोले शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाईएको उहाँले बताउनुभयो । छिमेकी जिल्ला पर्सामा निषेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरिकहरु बाराका बिभिन्न बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोबार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएकाले २०२८को दफा ६(३) र संक्रमक रोग नियन्त्रण ऐन २०२० दफा २ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो । सो निषेधाज्ञा जारी गरिएको अवधिभर अतिआवश्यक वस्तु बाहेक सवारी साधन र हिडडुल गर्न नपाइने व्यवस्था गरिएको छ । पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोरपर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको उहाँले बताउनुभयो । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णय भएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ । निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु(विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइएको छ । बैठकले औषधि पसल २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखि मात्र बिक्री गर्न पाउने निर्णय गरेको छ ।