
युवतीको पिसिआर नेगेटिभ, ब्लड क्यान्सरको कारण मृत्यु
पर्सा, बैशाख १४ गते । बीरगंजमा उपचारको क्रममा मृत्यु भएकी २३ बर्षिय युवतीको मृत्यु कोरोना संक्रमणले नभई ब्लड क्यान्सरले भएको पुष्टि भएको छ । वीरगंजमा गएराति लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएको र थप उपचारका लागि नारायणी अस्पतालको आईसोलेशनमा ल्याउदै गर्दा वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आईतवार बिहान मृत्यु भएको थियो । ब्लड क्यान्सरबाट पिडित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई परिवारले उपचारका लागि मुम्बई लैजाने तयारी गरि रहेको बेला नेपाल र भारतमा लकडाउन भएपछि परिवारले मुम्बई लान पाएका थिएन् । शनिवार एका एक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंज , एडभान्स अस्पताल बीरगंज हुदै वीरगंजकै तराई हस्पिटलमा उपचारका लागि पुरयाईएको थियो । नेशनल मेडिकल कलेज र एडभान्स अस्पतालले आईसियु खाली नभएको भन्दै फर्काएको र तराई अस्पतालमा उपचारका लागि भर्ना गर्दा विरामीमा कोरोना संक्रमण समेत भएको आशंकामा युवतीको तिन पटक ¥यापीड डाइनोस्टीक टेष्ट आरडिटी परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनलाई थप उपचारका लागि नारायणी अस्पतालमा ल्याउदै गर्दा विच बाटोमै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । युवतीको मृत्यु पछि स्वाब परिक्षणका लागि हेटौडा पठाईएको र हेटौडाको प्रयोगशालाले उनको रिपोर्ट कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।
