मुद्दामा दोषी ठहर भई फरार आठ जना पक्राउ

आर्दशवाणी संवाददाता । बारा, ९ मंसिर । बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार ८ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिरेर मुक्त भएका छन् । इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी गंगापुर बाराबाट खटिएको प्रहरी टोलीले फरार ८ अभियुक्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । पक्राउ पर्नेमा जितपुरसिमरा–१९ का ५० वर्षीय रामभाग्य राउत, कलैया उपमहानगरपालिका–१९ का ३५ वर्षीय मनोज भगत, कलैया–१९ का ५० वर्षीय रामप्रताप बैठा र पचरौता नगरपालिका–३ का धुपलाल दास बैरागी छन् । त्यसैगरी, अदालतको सजाय फैसलापछि फरार पचरौता–३ का वीरेन्द्रप्रसाद यादव, रामजिनिस प्रसाद कुशवाहा र रामचन्द्र हजरा दुसादलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । १ वर्ष कैद सजाय लागेका वन मुद्दाका प्रतिवादी रामभाग्य राउतलाई बीरगंज कारागार पठाइएको र अन्य प्रतिवादी जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिनुभयो । यसैगरी बालविवाह मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–१ घर भइ हाल बिरगंज महानगरपालिका वडा नम्बर २५ बस्ने योगेन्द्र मल्लिकका ३४ बर्षिय छोरा उमेश राउत लाई लुकीछिपी बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०७३ जेठ ३१ को फैसलामा राउतविरुद्ध ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।