हेटौंडाबाट एक सय ३० बोतल कोनोरेक्ससहित एक पक्राउ

हेटौंडा– मकवानपुर प्रहरीले आईतबार १ सय ३० बोतल अबैध लागूऔषध कोनोरेक्स बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटेबाट लागूऔषध कोनोरेक्स बरामद गरेको हो ।

हेटौंडा–१५ स्थित पुर्व–पश्चिम राजमार्गमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको अवस्थामा १ सय २५ वटा र ५ वटा गरी दुई जनाबाट १ सय ३० वटा लागु औषध कोनोरेक्स बरामद गरेको हो । १ सय २५ वटा कोनोरेक्स बोकेर आएको मोटरसाईकल र व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।

साथै ५ वटा कोनोरेक्स नै बोकेर आएको ना ५१ प २०६३ नम्बरको मोटरसाईकल तथा त्यसका चालक हेटौंडा–११ नवलपुर बस्ने वर्ष २४ का मनिस बलामी पक्राउ परेको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिए । पक्राउ परेको लागूऔषध र बलामीलाई आईतबारै जिल्ला प्रहरी कार्यालयमा पठाईएको उनले बताए ।