टेलिभिजन र अनलाइनको दर्ता र नवीकरण अब हेटौंडाबाट

हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस पास प्रदेश राजधानी हेटौडाबाट पाउनेछन् । एफएम, रेडियो र स्याटलाइटबाहेकका टेलिभिजन र अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाबाट हुने भएको हो ।
प्रदेश ३ ले बनाएको प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन ०७५ र नियमावली ०७६ ले अधिकार दिएपछि सो काम हुन लागेको हो । प्रदेशले बनाएको ऐन र नियमावलीअनुसार प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयमा पत्रपत्रिकाको अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण गरिनेछ ।

असार ९ गतेको बैठकले प्रदेश ३ को मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि प्रदेशभित्रका सञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख हेटौडामा राख्न बाटो खुलेको हो ।

सञ्चार रजिष्ट्रारको कार्यालयबाट एक सय वाटभन्दा माथि एक हजार वाटसम्मका एफएम रेडियो, स्याटेलाइटबाहेकका टेलिभिजन, अनलाइनको दर्ता र नवीकरण हुने रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए । प्रदेशसभाले ०७५ मंसिर ११ गते प्रदेश सञ्चार माध्यम व्यवस्थापन विधेयक पारित गरेको थियो । प्रदेश प्रमुखबाट सो विधेयक ०७५ पुस ११ गते प्रमाणीकरण भएको थियो । सोही ऐनबमोजिम ०७५ चैत २७ गते प्रदेश मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानून मन्त्रालयको सिफारिसमा सञ्चार रजिष्ट्रारमा पत्रकार सापकोटालाई नियुक्त गरिसकेको छ ।

प्रदेश सरकारले ल्याएको नयाँ नियमावलीअनुसार ऐन प्रारम्भ हुनुभन्दा अघि प्रकाशन हुँदै आएका पत्रपत्रिका, प्रसारण हुँदै आएका एफ एम रेडियो, टेलिभिजन, अनलाइन र पुस्तक प्रकाशनको अभिलेख सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडालाई उपलब्ध
गराउनुपर्नेछ ।