तेस्रोलिङ्गी समुदायको गुनासोः पेट पाल्नकै लागि देह व्यापार

हेटौंडा–यौनिक तथा लैङ्गिक अल्पसंख्यक समदायका व्यक्तिहरुले समाजिक भेदभाव र लान्छनाका कारण आफूहरु समाजमा खुलेर हिँड्न नसकेको तर्क गरेका छन् । तेस्रोलिङ्गी तथा समलिङ्गीलाई समाजले हेर्ने नजर परिवर्तन नभएको भन्दै आफूहरुको मानवीय स्वतन्त्रता पनि खोसिएको गुनासो गरे ।

फ्रेन्ड्स् हेटौंडाको आयोजनामा शनिबार हेटौंडामा भएको लैङ्गिक तथा अल्पसंख्यक समदायबीचको समन्वय अन्तरक्रियामा सहभागी समलिङ्गी तथा तेस्रोलिङ्गीहरुले आफूहरूलाई अमानवीय व्यवहार गरेकै कारण आफूहरु सडकमा उत्रिएर देह व्यापारमा लाग्नुपरेको बाध्यता पनि सुनाए ।

रोजगार माग्न जाँदा आफूहरुलाई कसैले विश्विास नगर्ने गरेको र काममा राखिहाले पनि भेदभाव हुने गरेको उनीहरुको गुनासो छ । ‘पेट पाल्नकै लागि भए पनि समलिङ्गी तेस्रोलिङ्गीहरु सडकमा आउन बाध्य भएका हुन् ।’ तेस्रोलिङ्गी अजिता भुजेलले भनिन् ।

फ्रेण्ड्स् हेटौंडाका अध्यक्ष सुमित पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका भीम तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निलहीरा समाजका कार्यक्रम संयोजक सुरज किरण, फ्रेण्ड्स् हेटौंडाका सदस्य विनोद ढकाल, शंकर रोक्का, अजिता भुजेल, इन्दिरा न्यौपाने, वर्षा मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए