खानेपानीको लागि रिङ सहयोग

हेटौंडा–मनहरी गाउँपालिका–३ ठाडोखोला दोभानमा खानेपानीको इनार बनाउनको लागि रिङ सहयोग गरिएको । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिकाका सचिव जंगबीर रुम्बाले उपभोक्ता समितिलाई १५ थान रिङ सहयोग गरेका हुन् ।

शनिबार एक कार्यक्रमकाबीच उपभोक्ता समितिका सदस्य तथा नेपाली काँग्रेस मनहरी गाउँपालिका सदस्य चन्द्रबहादुर मोक्तानलाई रिङ हस्तान्तरण गरिएको हो । हेटौंडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेसमेतको उपस्थितिमा रिङ सहयोग गरिएको थियो ।

इनार निर्माणपछि करिब दुई दर्जन घरधुरीलाई खानेपानी सुविधा प्राप्त हुने बताइएको छ । रिङ सहयोग पाएपछि बोल्दै उपभोक्ता समितिका चन्द्रबहादुर मोक्तानले गाउँमा लामो समयदेखिको खानेपानीको समस्या समाधान गर्न सहयोग प्राप्त भएको भन्दै खुसी व्यक्त गरे । करिब दुई दर्जन घरधुरीका करिब एक सयजनाले खानेपानी सुविधा पाउने उनले बताए ।