पढ्ने उमेरमा आमा बन्दै बालिका, हेटौंडामा नौ महिनामै दुईसय सुत्केरी

हेटौडा–हेटौंडा उपमहानगरपालिका–१३ कि सबिता लामा (नाम परिवर्तन) ले करिब डेढ वर्षअघि १६ वर्षको उमेरमै हेटौंडा–१२ का १८ वर्षीय आकाश लामा (नाम परिवर्तन ) सँग भागी बिहे गरिन् । १७ वर्ष पुग्दा नपुग्दै अहिले उनी छोरो च्यापेर हिँड्छिन् । पहिलो सन्तानको रुपमा उनले गत कात्तिकमा छोरो जन्माएकी हुन् ।

सुरुमा सामान्य चिनजान भएका उनीहरु विस्तारै प्रेम सम्बन्धमा परेको र कक्षा ७ मा पढ्दा पढ्दै बिहे भएको लामा बताउँछिन् । बिवाहपछि विद्यालय भर्ना भए पनि घरायसी कामले पढ्न नसकेको उनको भनाइ छ । उनको श्रीमान आकाशले भने भर्खरै कक्षा १२ को परीक्षा दिएका छन् । आकाश पनि सानै उमरेको भएको र पढ्दै गरेको हुँदा उनीहरु अहिले आफ्नो हरेक खर्चको लागि घरपरिवारमा नै निर्भर रहेको सबिता बताउँछिन् ।

‘बिहे गर्ने उमेर त भएको थिएन माया गाँसियो, बिहे पनि गर्यौं’ – उनले भनिन् । ‘लहैलहैमा लागेर सानै उमेरमा बिहे गरियो, अहिले दुःख देख्दा त्यसो गर्न नहुने रहेछ भन्ने लागेको छ ।’ उनले थपिन् । सबिताजस्तै सानै उमेरमा आमा बन्नेको बालिकाहरुको संङ्ख्या बढ्दो छ । गत बिहीबार स्वास्थ्य निर्देशनालयसंगै रहेको एमसिएच केन्द्रमा दुईजना २० वर्षभन्दा कम उमेरका किशोरीहरुले गर्भ परीक्षण गराए । त्यसमध्ये हेटौंडा ४

फरेष्ट्रीबाट आएकी १८ वर्षिय नाम बताउन नचाहने किशोरीले भन्ने आफ्नो उमेरसम्म लुकाउन
खोजिन् । सुरुमा आफ्नो सहि उमेर बताउन नचाहने उनले पछि भने नाम नभन्ने शर्तमा खुलेरै कुरा गरिन् । २० वर्षभन्दा कम उमेरमा बिहे गर्नसमेत सरकारले रोक लगाएको अवस्थामा आफू गर्भवती पनि भएकाले अनेक प्रश्नको जवाफ दिनबाट बच्न आफूले उमेर लुकाउन खाजेको उनले बताइन् । एक वर्षअघि प्रेमसम्बन्धमा परी बिहे गरिकी उनले भर्खरै कक्षा सिईई परीक्षा दिएकी छन् ।

उनी निस्किए लगत्तै निजगढ घर भएकी १९ वर्षिया सरिता खड्का पनि गर्भ जाँच गराउन आइन् । गर्भ परीक्षण गराउन एक्लै पुगेकी उनी आत्तिएकी देखिन्थिन् । उनको स्थिति भने अरुको भन्दा अलिक फरक रहेछ । सानै उमेरमा बिहे गर्न र बच्चा जन्माउन नहुने ज्ञान भएकी उनले भने आफूले बाध्यताले बिहे गरेको बताइन् । घरको आर्थिक स्थिति कमजोर भएकोले आफूलाई पढ्न मन हुँदा हुँदै पनि बिहे गर्नुपरेको उनले सुनाइन् ।

हेटौडा अस्पतालको पछिल्लो नौ महिनाको तथ्यांक हेर्दा २० वर्षमुनिका दुईसय किशोरी आमा बनेका छन् । हेटौडा अस्पतालले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म हेटौंडा अस्पतालमा एकहजार ८ सय ४१ जना महिला सुत्केरी भएका छन् । ती मध्ये २० वर्षमुनिका किशोरी दुईसय जना रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको अनुसार सबैभन्दा कम उमेर १७ वर्षमा तीनजना बालिका आमा बनेका छन् । चालु आवको नौ महिनामा हेटौंडा उपमहानगरपालिकाभित्रका मात्रै दुईसय ६५ किशोरीले पहिलोपटक गर्भ परीक्षण गराएका थिए । चार पटक गर्भ परीक्षण गराउनेको संङ्ख्या भने दुईसय १० रहेको छ ।

बाल विवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप प्रताडित हुन पुग्ने अवस्था सिर्जना भइरहेको हेटौंडा उपमहानगर स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए । आजको साझाकुरा दैनिकमा श्रीजना नेपालले यो समाचार लेखेकी छन् ।