कुकुरले मारेरै सक्ने भो फरेष्ट्री जंगलको मृग र चित्तल

हेटौंडा — हेटौंडा बजारको मध्यभागको जंगलमा बासस्थान बनाउँदै आएका चित्तल र मृग अहिले मासिने त्रममा छन् । हेटौंडा उपमहानगरपालिका १० स्थित वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री)को जंगलमा चित्तल र मृग थोरै मात्र छन् ।

हेटौंडा उपमहानगरपालिका ४ हुप्राको चौरमा बिहीबार बिहान एक चित्तल मृत फेला परेको थियो ।वनविज्ञान अध्ययन संस्थानको जंगलबाट बाहिर निस्केको उक्त चित्तललाई चार वटा कुकुरले लखेटेर मारेको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्यूत लामिछानेले बताए ।

अध्ययन संस्थानको जंगलबाट यताउता चर्न निस्केको चित्तललाई भुस्याहा कुकुरले लखेटेर मारेको उनले भने । कुकुरले लखेटेर साउनदेखि जेठ १० गतेसम्म १२ चित्तल र १२ मृग गरी २४ वटा मारिसकेको छ । मारिएकामध्ये १० पोथी १४ भाले छन् ।

डिभिजन वन कार्यालयका अनुसार साउनमा ३ वटा, भदौमा ७, मंसिरमा २ पुसमा २, माघ ४, फागुन १, चैत १, वैशाख २ र जेठमा २ वटा चित्तल कुकुरले लखेटेर मारेको हो । ‘६ वटा घाइते अवस्थामा र २४ वटा मृत फेला परेका थिए,’ सहायक वन अधिकृत लामिछानेले भने, ‘घाइतेहरूको उपचार गरेर जंगलमा नै छाडियो ।’कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।