हेटौंडाका ट्युसन सेन्टरलाई दर्ता गर्न आग्रह, अटेर गरे कारबाहीको चेतावनी

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी दर्ताको लागि सूचना गरेको छ ।

जिल्लामा अझै पनि ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी विना दर्ता सञ्चालनमा रहेको पाइएकोले सूचना जारी गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।

‘दर्ता भै सञ्चालन गर्नुपर्ने प्रचलित ऐन, नियममा स्पष्ट व्यवस्था भएपनि यस जिल्लामा कतिपय संस्थाहरु विना दर्ता सञ्चालनमा रहेको जानकारी एवम् उजुरी आएको छ’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र विना दर्ता सञ्चालनमा रहेका ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी दर्ता गराउनुहुन जानकारी गराइन्छ ।’

दर्ता नगरी सञ्चालन भएमा सञ्चालकलाई कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले चेतावनी दिएको छ ।