काँग्रेसमा आसन र भाषण व्यवस्थित

हेटौंडा–नेपाली काँग्रेसले बुधबारबाट सुरु गरेको जागरण अभियानसँगै औपचारिक
कार्यक्रमको परम्परागत शैली पनि परिवर्तन भएको छ । जसको कारण कार्यक्रम छोटो छरितो र प्रभावकारी हुने विश्वास लिइएको छ ।
असिमित संख्याको आसन ग्रहणको परम्परा र धेरै जनाको भाषण राखेर औपचारिक कार्यक्रम निकै लामो हुने परम्परा बुधबारबाटै सकिएको छ ।मकवानपुरमा पहिलो पटक बुधबार यस्तो अभियान सुरु गरिएको हो । हेटौंडा–२ मा रहेको पार्टी कार्यालयमा राखिएको जागरण अभियानको उद्घाटन कार्यक्रममा सभापति र प्रमुख अतिथिबाहेक अन्य सबै मञ्चभन्दा तलै बसे । उनीहरु सबैलाई सामुहिक आसन ग्रहण गराइएको थियो ।

केन्द्रीय कार्यसमितिले निर्देश गरेबमोजिम आसन ग्रहणपछि मौनधारण, राष्ट्रिय गान, काँग्रेस संस्थापक नेताहरुको शालिक वा फोटोमा माल्यार्पण र कलश बालेर उदघाटन गरियो । कुनै बिरुवामा पानी हाल्ने वा कलश बाल्ने मध्ये एक गरी कार्यक्रम उद्घाटन गर्ने केन्द्रीय सर्कुलर छ । कार्यक्रममा बोल्ने बक्ता निकै कम थिए । उनीहरुलाई जम्मा ५ मिनेटको मात्र बोल्ने समय दिइएको थियो । जसमा महिला प्रतिनिधित्वलाई बढी प्राथमिकता दिइयो ।

कार्यक्रममा जिल्ला पार्टी कोषाध्यक्ष गोपिलाल विश्वकर्माले सहभागीलाई स्वागत गरेसँगै पार्टी सचिव बुद्ध लामाले पार्टीको जागरण अभियानअन्तर्गत तयः गरिएको कार्यक्रमको बारेमा जानकारीका साथै अन्य कार्यक्रमको बारेमा जारी सर्कुलर पढेर सुनाए । लगतै काँग्रेस मकवानपुरकी महिला विभाग प्रमुख अमृता थापामगर, महासमिति सदस्य रिता खनाल र नेतृ उमा दाहालले ५–५ मिनेट मन्तव्य राखे । त्यसलगतै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफ्नो भनाइहरु राखे ।
प्रमुख अतिथिको भनाइपछि पार्टी प्रवेशको साथै नयाँ सदस्यता वितरण गरियो । कार्यक्रममा १ सय १७ जना पार्टीमा प्रवेश गरेका थिए । सदस्यता वितरणपछि कार्यक्रमका अध्यक्षता गरेका मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कार्यक्रम समापन गरे ।