सम्झौता अवधि अगावै बन्यो मकवानपुरको चौरामा पुल


हेटौंडा — निर्माण कम्पनीहरूले तोकिएको काम समयमा नै नसक्ने रोगले ग्रसित रहेको अवस्थामा मकवानपुरको दुर्गम गाउँपालिकाको झोलुङ्गे पुल ९ महिनाअघि नै निर्माण कार्य सकेको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिकाका ४ र ५ नम्बर वडाको चौरा खोलामा तोकिएको समयभन्दा अघि नै झोलुङ्गे पुल निर्माण गरिएको हो । उमाखानी जेभी निर्माण कम्पनीले २०७६ साल माघ १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । ‘तर ९ महिनाअघि नै निर्माण कार्य सकेको छ,’ गाउँपालिका ४ का वडाध्यक्ष रहर थिङले भने, ‘झोलुङ्गे पुल निर्माण भएर पनि नयाँ वर्षको सुरुवातदेखि नै स्थानीयवासीहरू आउजाउ गर्न थालिसके ।

२०७४ साउन १६ गते उक्त कम्पनीले १८ महिनाभित्रमा झोलुङ्गे पुल निर्माण गर्ने सम्झौता गरेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सम्पेन्सन बिज्र डिभिजन कार्यालयले उक्त पुल निर्माण गर्न २ करोड ३८ लाखमा उमाखानी जेभी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । वाग्मती गाउँपालिका ४ को झुरझुरे र ५ को ज्यामिरेको बीचमा रहेको चौरा खोलामा ३ सय १२ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । पुलको २ मिटरको चौडाइ रहेको छ ।

उक्त स्थानमा झोलुङ्गे पुल नभएका कारणले वर्षायाममा खोला तर्दा बर्सेनि २ देखि ३ जनाले ज्यान गुमाउने गरेका थिए । वर्षायामा सुरु भएपछि विद्यार्थी उक्त खोला तर्न नसकेर पढ्न जान सक्दैनथ्ये । वाग्मती गाउँपालिका ४ मा पर्ने झुरझुरे, लम्कना, चाँदेलगायत क्षेत्रका विद्यार्थीहरू वर्षा सुरु भएपछि ज्यामिरेस्थित देवकी माविमा पढ्न जाँदैनथ्ये, गापा अध्यक्ष सर्केस घलानले भने, यो झोलुङ्गे निर्माण भएपछि अब यो समस्या हट्यो .

झुरझुरे, लम्कना, चाँदेलगायतका ६ कक्षादेखि माथि अध्ययन गर्ने विद्यार्थी चौरा खोला तरेर वाग्मती गाउँपालिका ५ ज्यामिरेमा रहेको देवकी माविमा अध्ययन गर्न जाने गर्छन् । उक्त माविमा खोला तरेर जानुपर्ने विद्यार्थीको संख्या सयको हाराहारीमा छ ।

कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।