आँखा अस्पतालमा अब इलेक्ट्रोनिक टोकन मेसिन

हेटौंडा–हेटौंडामा रहेको सामुदायिक आँखा अस्पताललाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बिरामीको आँखा जाँचमा सहजता प्रदान एवम् वैज्ञानिक व्यवस्थापनका लागि इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको छ ।

करिब २ लाख रुपैयाँ बराबरको क्यू म्यानेजमेन्ट सिस्टमसहित इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको हो । नयाँ वर्ष २०७६ को अवसरमा स्कूल अफ म्यानेजमेन्टका प्रमुख पुरणबहादुर जोशीले अस्पताल प्रमुख सुनिल थकालीलाई एक कार्यक्रमकाबीच मेसिन हस्तान्तरण गरेका हुन् । जोशीले आँखा अस्पातालले आँखा स्वास्थ्यमा गरेका क्रियाकलापबाट आफू प्रभावित भएर सहयोग गरेको प्रतिक्रिया दिए ।

आँखा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न आफू तत्पर रहेर अस्पतालसँग सहयकार्य गरेको जानकारी दिँदै उनले भविष्यमा सहयोग गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे । अस्पताल प्रमुख थकालीले बिरामीलाई सकेसम्म छिटो एवम् कम झन्झटिलो सेवा प्रदान गर्नेे अभियानमा मेसिनले थप सहयोग पुग्ने जानकारी दिए ।

अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले पहिला सामान्य तरिकाले बिरामीलाई टोकन प्रदान गरिँदै आएकोमा रियल टाइम सोलुसन प्रालि काठमाडौंको उपकरण जडान गरिएको बताए । क्यू म्यानेजमेन्ट सिस्टमसहित तीन काउन्टर भएको मेसिन जडान गरेपछि वैज्ञानिक तरिकाले सेवा प्रदान गर्दा बिरामी लामो समयसम्म उभिएर बस्नु नपर्ने र आफ्नो पालो आएपछि नाम दर्ता गर्न सहज हुने उनले जानकारी दिए । मेसिनको कारण विरामीलाई थप सहज हुने उनको विश्वास थियो ।