एमालेका उम्मेदवार मेहता माथी आक्रमण

अगम कुमार उपाध्याय
रौतहट, २९ बैशाख–रौतहटको ईशनाथ नगरपालिकाको मेयरका उम्मेदवार सन्तोष मेहता माथी बुधवार राती आक्रमण भएको छ ।

स्थानीय जगदीश पटेलको छोरीको बिहेमा सहभागी हुन जाने क्रममा राती करीब साढे १० बजे पल्टुवा र लक्ष्मीनिया गाउको बीचमा आफुमाथी सुनयोजित ढंगले आक्रमण भएको ईशनाथ नगरपालिकाको निवर्तमान मेयर समेत रहेका मेहताले बिहिवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।

बिहेको कार्यक्रममा सहभागी हुन निस्ककीदै गर्दा प्रहरी चौकी मठिया महोलियाका प्रमुख प्रहरी सहाय निरिक्षक संजय राउत कुर्मीले आफुलाई फोन गरेर जरुरी छ भनी भेटन बोलाएका थिए ।

असईलाई भेट्न जादा आफुमाथी एक्कासी आक्रमण भएको एमालेबाट मेयरका उम्मेदवार समेत रहेका मेहताले जानकारी दिए ।

‘भेटन पुग्दा असईले केही कुरा गरेरनन्,’ उनले भने, ‘अर्को सई मुकेश सिंहले आफु चढेको गाडीको साचो झिकेर अल्झाई दिए ।’ त्यसकको केही बेरमै एक सय भन्दा बढीको संख्यामा आएको अन्जु झाको कार्यकर्ताले आफु चढेको गाडीमा ढुंगामुढा गर्दै आक्रमण गरेको उनले आरोप लगाए ।

आक्रमणबाट गाडीमा क्षति पुग्नुका साथै आफु सहित गाडीमा सवार आफ्ना पक्षका शशीभुषण मेहता, विक्रम मेहता लगायत चार जना घाईते भएको मेहताले जानकारी दिए ।

आफुमाथी आक्रमण भएको जानकारी घरपरिवार तथा आफ्ना कार्यकर्तालाई दिएपछि ठुलो संख्यामा पुगेका आफन्तले उद्धार गरी अर्को गाडीमा राखेर आफुलाई घर फिर्ता ल्याएको पीडित मेहताको भनाई छ ।

आक्रमणको क्रममा ईशनाथ नगरपालिकाकै अर्का मेयरका उम्मेदवार नेपाली काग्रेसकी अन्जु झाको पनि उपस्थिती रहेको मेहताको आरोप छ ।

घटनबारे जानकारी गराउन खोज्दा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले फोन नउठाएको पीडित मेहताको गुनासो छ ।

प्रहरीले फोन गरेर बोलाउनु, काग्रेसका उम्मेदवारका कार्यकर्ताले आक्रमण गर्नु र सिडिओ, एसपीले फोन नउठाउनुले घटना सुनुयोजित भएको मेहताको दाबी छ ।

क्षतिग्रस्त गाडीलाई सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बेस औरियामा राखिएको पीडित मेहताले जानकारी दिए ।

घटनाको निष्पक्ष छानबीन र घटनामा संलग्न दोषी प्रहरी माथी कारवाहीको माग पीडित मेहताले गरेका छन ।

घटनाका आरोपित नेपाली कांग्रेसकी उम्मेदवार अन्जु झाले आफु माथी लागेको आरोप निराधार भएको दाबी गरेकी छिन ।

मेयरमा सिम्पैथी मत प्राप्त गर्न निवर्तमान मेयर समेत रहेका मेहताले ब्याण्डेज लगाएर प्रोपोगण्डा फैलाएको दाबी गरेकी छिन । आफु वा आफ्नो कार्यकर्ताले मेहता माथी आक्रमण नगरेको झा स्पष्ट पारेकी छिन ।