प्रचण्डलाई टोपबहादुरको जवाफ : सांसद, मन्त्रीबाट हटाउनुहोस् हामीलाई केही चिन्ता छैन

काठमाडौैं, फागुन २९

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पार्नुभएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन्’, उहाले भन्नुभयो ।

मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरू एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिनुभयो । मन्त्री रायमाझीले अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने जवाफ प्रचण्डलाई दिनुभयो । माओवादी केन्द्र ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी रहेको’ पार्टी भएको संज्ञा दिनुभयो ।साभार जनता टाइम्स