संबैधानिक इजलाशमा चल्यो वकिलबीच रोचक घोचपेच : गीतमै प्रश्न, जवाफ गीतबाटै

काठमाडौं, माघ २०

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा मंगलबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा गीतको बोल सुनाउनुभयो, नाइँ मलाई त्यही केटी चाहिन्छ । प्रतिनिधिसभा विघटनका सम्बन्धमा सरकारका तर्फबाट बहस गरिरहनुभएका खरेलले उक्त गीतको बोललाई निवेदकहरुको जिकिरसँग तुलना गर्दै एउटा किस्सा सुनाउनुभयो ।

‘बाबुआमाले आफ्नो छोरालाई हुर्काइ–बढाइ गरेर विवाहका लागि योग्य बनाउँछ तर उसले यो गीतको बोलझैं आफूले मन पराएको त्यही केटी चाहिन्छ भनेर जिद्दी गरेजस्तो उहाँहरुलाई त्यही प्रतिनिधिसभा किन चाहिएको हो ?’ उहाँले भन्नुभयो, ‘ताजा जनादेशमा गएर अर्को प्रतिनिधिसभा गठन गर्न किन नमिल्ने ?’

महान्यायाधिवक्ता खरेलले गत माघ १४ गते इजलासमा निवेदकका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीत सुनाएर सरकारलाई प्रश्न गरेको सन्दर्भमा मंगलबार ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत सुनाएर जवाफ दिनुभएको हो ।

वरिष्ठ अधिवक्ता घिमिरेले तत्कालीन माओवादीहरु शान्ति प्रक्रियामा आएर संविधानसभाको दुईवटा निर्वाचनपछि संविधान बनाएर मुलुकलाई शान्ति र स्थायित्वको दिशामा अघि बढाइएको, मेहनत गरेर बनाएको संविधान र त्यसबाट प्राप्त उपलब्धि मेट्ने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको जिकिर गर्नुभएको थियो । संविधानलाई संकटमा पार्नेगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै उहाँले ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको अवस्थामा पुर्याइएको उहाँको जिकिर थियो ।
महान्यायाधिवक्ता खरेलले भने सो गीतको मर्म नै नबुझी इजलासमा त्यसलाई उद्धृत गरिएको तर्क गर्नुभयो । हिजो सरकारका पक्षबाट बहस थालेका महान्यायाधिवक्ता खरेलले मंगलबार खाजा समयअघि आफ्नो बहस टुङ्ग्याउनुभएको छ । खाजा समयपछि वरिष्ठ अधिवक्ता सुशील पन्तले सरकारका पक्षबाट बहस गर्दैहुनुहुन्छ ।साभार जनता टाइम्स