सतर्कता नअपनाउदा कोरिडोरका उद्योग उच्च जोखिममा

बारा १५ साउन । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका केही उद्योगका कामदारमा कोरोना संक्रमण भेटिएपछि उच्च जोखिम बढेको छ । कोरोना महामारीका बेला अवैधानिक रुपमा भारतीय श्रमिक ल्याई सञ्चालन गरिएका वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका उद्योगहरुका कारण पर्सा, बारा र रौतहटमा कोरोना संक्रमणको जोखिम भएको हो । बढी श्रमिक कार्यरत जगदम्बा इन्टरप्राइजेज, मारुती फर्माजस्ता उद्योगका श्रमिकमा कोरोना पुष्टि भइसकेको छ । त्यहाँका श्रमिक सहजै बजार र गाउँ गाउँमा जान आउन रोकतोक थिएन । कोरिडोरमा रहेका प्रायः उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन् । सुरुका केही दिनबाहेक लकडाउनको समयमा पनि यस क्षेत्रका प्रायः उद्योग सञ्चालनमा रहेको खुलेको छ । तर, उद्योगी व्यवसायी भने कर छुटलगायतको सहुलियतका लागि उद्योग बन्द रहेको दाबी गर्दै आएका छन् । यसरी चलेका उद्योगहरुले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डअनुसार सुरक्षा सतर्कता भने नअपनाएको त्यहाँ कार्यरत श्रमिकहरु बताउँछन् । तर, उनीहरु उद्योगको उक्त कार्यलाई भन्न सकेका छैनन् । उद्योगमा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिए पनि उनीहरुको ट्राभलङ हिष्ट्री भने छैन । यसले पनि कोरिडोरमा रहेको उद्योगबाट नै संक्रमण सर्दै गएको आशंका गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।